बलात्कारमा संलग्नले पीडितलाई खेत र नगदको प्रलोभन देखाउँदै मिलापत्रका लागि बारम्बार दबाब र धम्की दिएपछी पीडित युवती गाउँ छाडेर परिवारसहित कपिलवस्तु सदरमुकाम तौलिहवा पुगेकी छिन ।
असोज १७ साँझ घरअगाडि धारामा भाँडा माझिरहेकी शिवराज नगरपालिकाकी ती युवतीलाई स्थानीय रहेमान र जयफुल्ला गदीले खेतमा पुर्याएर करणी गरेको आरोप पिडित युवतीको छ l पीडितका अनुसार जयफुल्लाले मुख थुनेका थिए । मुखबाट हात छुट्नासाथ युवती चिच्याइन् । त्यो सुनेर युवतीकी दिदी घरबाहिर निस्केपछि उनीहरू भागेका थिए ।
प्रहरी प्रशासनले अझै मुख्य आरोपी पक्राउ गरेको छैन । ‘बरु विभिन्न किसिमका लोभ देखाइएको छ, गाउँघरका धेरै व्यक्ति फकाउन आइरहेका छन्,’ युवतीले भनिन् ।
आरोपीका काकाले २ बिघा खेत र ५ लाख नगद दिने प्रस्ताव गरेर मिलापत्रका लागि दबाब दिएको पीडितकी आमाले बताइन् । ‘पहिलोपटक मैले हप्काएर पठाएँ,’ उनले भनिन्, ‘हामी चाहन्छौं, जे गर्छ कानुनले गर्छ ।’
उनले आफूहरूलाई बारम्बार धम्की दिने गरिएको बताइन् । पीडित धेरै डराएका छन् । अहिलेसम्म आरोपी पक्राउ नपर्दा त्रास बढेकाले ‘अल्लाह’ को नाम जप्दै बस्न बाध्य भएको पीडित युवतीले बताइन् । परिवारमा पुरुष छैनन् ।
युवतीका दुई दाजु रोजगारीका लागि विदेशमा छन् । दिदीको विवाह भइसकेको छ । बुवाको १५ वर्षअघि मृत्यु भएको थियो । घरमा युवती र आमा मात्र बस्छन् । ‘जस्तोसुकै परोस्,’ उनले भनिन्, ‘धन सम्पत्तिसँग इज्जत साटदिनँ ।’ समाज र सरकारबाट न्याय पाउने आशा राखेको उनले बताइन् ।
आरोपी पक्राउको माग राख्दै सदरमुकाम आइपुगेका पीडित युवती र उनकी आमाले बुर्का भित्रबाटै आफ्नो पीडा सञ्चारकर्मीसामु सुनाए । खेतमा पुर्याएर अस्मिता लुटिँदासमेत गाउँले कोही नबोलेको उनीहरूको दुखेसो छ । उनीहरूका अनुसार आरोपी ‘हुने खाने’ परिवारका हुन् । गाउँभरि उनीहरूले भनेकै चल्छ । वडाध्यक्ष र गाउँका अगुवा पनि पत्रकार सम्मेलनमा सहभागी थिए । उनीहरूले पीडितले न्याय पाउनुपर्ने बताए पनि आफूलाई सार्वजनिक नगर्न आग्रह गरे । ‘हामी सबै कुरा भन्छौं, तर नाम नलेख्नुहोला,’ ती वडाध्यक्षले भने, ‘सबै मिलाउनुपर्छ ।’
बलात्कृत युवतीको वैशाखमा विवाह गर्ने तय भएको थियो । घटनाको जानकारी केटा पक्षको घरसम्म पुगिसक्यो । ‘विवाह रद्द गरिएको खबर पठाएकाले छाँगाबाट खसेझैं भएकी छु,’ पीडितकी आमाले भनिन्, ‘मानसिक तनावले निद्रा लाग्दैन ।’ प्रहरीले दोषी उम्किन नपाउने दाबी गरेको छ । ‘अपराधी उम्कन पाउँदैन,’ प्रहरी उपरीक्षक मनोज यादवले भने, ‘हामीले सबै सुरक्षा संयन्त्र परिचालन गरेका छौं ।’
वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक महेश्वर उपाध्यायले आरोपित व्यक्ति सीमावती गाउँमा लुकेको शंकामा भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए । बलात्कारमा सहयोगीको आरोप लागेका जयफुल्ला शुक्रबार पक्राउ परेका छन्।