महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक र अनुसन्धानका क्रममा प्रमाण मेटाउनेलाई कारबाहीको माग राखेर महेन्द्रनगरमा बृहत प्रदर्शन भएको छ।
मंगलबार महेन्द्रनगरमा नागरिक संघर्ष समितिको अगुवाईमा बृहत प्रदर्शन भएको हो। स्थानीय मदन चोकमा निरन्तर धर्नामा बसेर आन्दोलनरत नागरिक संघर्ष समितिले मंगलबार महेन्द्रनगर बजारमा हत्यारा सार्वजनिक र अनुसन्धानका क्रममा प्रमाण मेटाउनेलाई हदैसम्मको कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन्। गत शनिबारदेखि निरन्तर धर्नामा बसेर आन्दोलन गरिरहेको नागरिक संघर्ष समितिले दसैंलाई मध्यनजर गर्दै तत्काललाई आन्दोलन स्थगीत गर्नुपूर्व मंगलबार महेन्द्रनगरमा प्रदर्शन गरेको हो।
स्थानीय मदन चोकबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। जिल्ला प्रशासन कार्यालयमा केहीबेर नाराजुलस र प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाइएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टमार्फत समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो। कोणसभालाई सम्बोधन गर्ने क्रममा अधिकारकर्मीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७५ दिन पुगिसक्दा समेत अहिलेसम्म हत्यारा पक्राउ नपरेको तथा अनुसन्धानका क्रममा प्रमाण मेटाउनेलाई कारबाही नभएकोे भन्दै सरकारको कडा आलोचना गरे।
प्रदर्शनमा निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलगायत राजनीतिक दलका नेता कार्यकर्ता, अधिकारकर्मी, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। निर्मला पन्तका हत्यारा सार्वजनिक गर्नुपर्ने, प्रमाण मेटाउनेलाई कारबाही लगायतका माग राखेर आन्दोलन जारी छ। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनादेखि निरन्तर रुपमा हत्यारा सार्वजनिक गर्न माग राखेर महेन्द्रनगरमा आन्दोलन, धर्ना, प्रदर्शन लगायत भइरहेका छन्। जिल्ला प्रहरी कार्यालयले भने घटनाको अनुसन्धान भइरहेको बताउदै आएको छ।