पप्पु कन्स्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, ९० कराेड रूपैयाँ बिगो दाबी

पप्पु कन्स्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, ९० कराेड रूपैयाँ बिगो दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ असोज २०७५
  • 13.2K
    Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र तत्कालीन अध्यक्ष हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । हरिनारायण संघीय समाजवादी फोरमका सांसद पनि हुन्। रौनियार पर्सा ३ बाट निर्वाचित भएका थिए ।
छानबिनका क्रममा भ्रष्टाचार गरेको पाइएपछि शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पुष्टि भएपछि अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । बबई पुल निर्माण कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीको मिलेमतो भएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

‘बबई पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्नेसमेतको व्यहोराको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन, पोखरिया–७ बीच पुल निर्माणका लागि मिति २०६८ असार २२ गते सम्झौता भएपछि सो पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्म नै लापरबाही भएको उल्लेख छ,’ अख्तियारले भनेको छ ।

निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीबाट लाइन लेभल तथा पाइर हाइटको सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको, फिल्डको नापजाँच हचुवाको भरमा गरेको, स्पेसिफकेसनको क्लज १ सय १२ बमोजिम नभएको, स्पेसिफिकेसनको क्लज १ सय ४ बमोजिम निर्माण व्यवसायीबाट क्वालिटी एस्युरेन्स प्लान पेस गर्न लगाई स्वीकृत गरी निर्माण सामग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको अख्तियारको आरोप छ ।

यसैगरी गुणस्तर प्रमाणित नभईकन नै भुक्तानी सिफारिस गरेको, पाइलहरुको गहिराइ डिजाइनबमोजिम नभएको वा डिजाइनबमोजिम निर्माण नगरेको तथा निर्माण भएको पाइलहरुमा समेत क्याभिटिज भएको कारणले नै पाइलले लोड लिन नसकी पुल भास्सिएको अख्तियारले जनाएको छ । प्रविधिक परीक्षण तथा विश्लेषणबाट उल्लेखित सबै आरोप पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारको दावी छ ।

आरोपित र बिगो
१) हरिनारायण प्रसाद साह रौनियार, सांसद तथा पप्पु कन्स्ट्रक्सनका पूर्व सञ्चालक (पुल ठेकेदार लिएको समयका अध्यक्ष)
बिगो– १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ

२) सुमित रौनियार, अध्यक्ष, पप्पु कन्स्ट्रक्सन
बिगो– १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ

३) गोविन्द गैरे, सब–इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो– १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ रुपैयाँ

४) कार्मा तेन्जिङ तामाङ, सब–इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – १५ करोड ८ लाख ८४ हजार ४ सय १३ रुपैयाँ

५) ई. दीपेन्द्रबहादुर विष्ट, इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – १ करोड ६१ लाख ८३ हजार ४ सय ४५ रुपैयाँ

६) ई. हरिबहादुर खड्का, इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज बिगो – ७ करोड ५४ लाख ४८ हजार ६१ रुपैयाँ

७) ई. प्रेमबहादुर चुवाई, इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – ३ करोड १९ लाख ३८ हजार ७ सय ७९ रुपैयाँ

८) ई. नवराज केसी, निमित्त डिभिजन प्रमुख, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – ६ करोड ९२ लाख ४६ हजार ९ सय २१ रुपैयाँ

९) राजेश कुमार यादव, तत्कालीन डिभिजन प्रमुख, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – ३ करोड ८८ लाख ७२ हजार १ सय ८६ रुपैयाँ

१०) मनोज श्रेष्ठ, तत्कालीन डिभिजन प्रमुख, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – ९ करोड २४ लाख २४ हजार ९९ रुपैयाँ

११) भानु जोशी, तत्कालीन डिभिजन प्रमुख, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो–१ करोड ९७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ

१२) कृष्णदेव यादव सञ्चालक, इभरेस्ट इन्जिनियरिङ कन्सल्टेन्ट

बिगो– १ लाख ४१ हजार २ सय ५० रूपैयाँ

प्रतिक्रिया