नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता प्रकाण्डले दस वर्षको जनयुद्धको नेतृत्व गरेका प्रचण्डका विरुद्ध १० हजार जनताको हत्याको मुद्दा जनताको अदालतमा दर्ता गर्न उद्घोष गरेका छन् । ४९ दिन लामो हिरासत बसाईपछी सर्वोच्च अदालतको आदेशले हिरासतमुक्त भएका नेता प्रकाण्डले आफ्ना नेता-कार्यकर्ता र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै यस्तो उद्घोष गरेका हुन् । उनले अघि भने, अहिले हामीमाथि दमन गरिराखेका छन् । प्रचण्डका विरुद्ध १० हजार जनताको हत्याको मुद्दा जनताको अदालतमा दर्ता हुनेछ र यसको फैसला आगामी क्रान्तिको स्वरुपले तय गर्नेछ ।”
सम्बोधनकै क्रममा प्रकाण्डले जनयुद्धमार्फत शुरु गरिएको पूर्णअधिकार प्राप्तिको नेपाली क्रान्तिलाई धोका दिएका प्रचण्डले अब सहिद, बेपत्ता परिवार र नेपाली जनतालाई हिसाब चुक्ता गर्नुपर्छ । भागेर छुट पाइँदैन” भने ।
जारी क्रान्तिले सबै दलालहरूको हिसाबकिताब राखेको र त्यसको उचित फैसला गर्ने बताउंदै उनले अघि थपे “ओलीले यो गणतन्त्र ल्याएको होइन । त्यसैले उनले धेरै ठ्याँठ्याँ नगरे हुन्छ ।’
गृहमन्त्री रामबहादुर थापा बादललाई “बुद्धि बिग्रिएका लफंग” र “लम्फु” को संज्ञा दिदै “बादलले हामीलाई थुनेर नेपाली क्रान्ति रोक्न सकिन्छ भन्ने बुद्धि ल्याएका छन्, त्यो लफंग तरिका काम नभएको जिकिर गरे l
उनले सोषित पिडित जनताको राज्यसत्ता कायम नभएसम्म नेपालमा एकीकृत जनक्रान्ति जारी रहने र त्यसको नेतृत्व महासचिब बिप्लबले गर्ने स्पस्ट पारे l
यस अघि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्ड ५० दिनको हिरासत बसाईपछि मंगलबार रिहा भए थिए ।
सर्वोच्च अदालतमा दायर पाँचौंपटकको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको बहसपछि भएको आदेशमा प्रकाण्ड आज साँझ रिहा भएका हुन् । पछिल्लोपटक गएको भदौ २९ गतेदेखि उदयपुरमा विष्फोटक पदार्थको अभियोग प्रहरीले हिरासतमा राख्दै आएको थियो ।
आजको बहसपछि न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बन्दी बनाइएका प्रकाण्डमाथिको अभियोग आधारहीन, वस्तुनिष्ठ र अप्रमाणित भएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको हो ।
अभियोग मुलतः राजनीतिक पूर्वाग्रह र प्रतिशोध भावनाबाट लगाइएको र संविधानबमोजिम गठित राजनीतिक पार्टी संचालन गरिरहेको व्यक्तिको वैयक्तिक स्वतन्त्रसमेत हनन गरेको ठहर गरिएको छ । बहसमा रिटनिवेदकको पक्षबाट वरिष्ठ अभिवक्ता एकराज भण्डारी, खिमानन्द अधिकारी, कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगानालगायत दुई दर्जन वकिलहरुले बहस गरेका थिए ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रवक्ता प्रकाण्डलाई गएको साउन २२ गते पार्टी काम सकेर काठमाडौं आउँदै गर्दा काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट सहयोगी हरिचन्द्र आचार्य र चालक मनबहादुर श्रेष्ठसँगै गिरफ्तार गरिएको थियो ।
रिहा भएलगत्तै प्रकाण्डलार्ई सयौं संख्यामा भेला भएका समर्थक, कार्यकर्ता, नेता, शुभचिन्तक, वकिल, पत्रकारले स्वागत गरेका थिए । स्वागतपछि माइतीघर मण्डलमा आयोजिक छोटो कोणसभालाई सम्बोधन समेत गरे । सम्बोधन गर्दै प्रकाण्डले नेकपासँग राज्यसत्ता जित्ने शक्ति भएकैले अब सरकारले नेकपाका नेता कार्यकर्तालाई झुठा मुद्दामा लामो समय राख्न नसक्ने बताए ।
यसअघि यही आइतबार नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेल शिलु र केन्द्रीय सदस्य टेकबहादुर केसी आजाद सर्वोच्चकै आदेशमा रिहा भएका थिए । अझै चार पोलिटब्यूरो सदस्य र चार केन्द्रीय सदस्य विभिन्न जिल्लाका प्रहरी हिरासतमा राखिएका छन् ।