नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बहस मंगलबार हुने भएको छ । उनीमाथि लगाइएको मुद्दामा आइतबार सर्वोच्चमा बहस हुने कार्यक्रम थियो l तर सर्वोच्च अदालतले समय अभाव भएको बताउदै प्रकाण्डको मुद्दाउपर मंगलबार बहस हुने जानकारी दिएको छ ।
चार पटकसम्म अदालतले रिहा गरेका प्रवक्ता प्रकाण्डलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरी विभिन्न जिल्लाहरु घुमाउदै आएको छ ।
यसैबिच, नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्यद्वय पदमबहादुर राई र ओमप्रकाश पुनलाई अर्को अभियोगमा दाङ लगिएको छ ।
राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहाभए लगत्तै बम विष्फोटको अभियोगमा दाङ जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । दुवै नेतालाई दाङ ल्याइपुर्याएको पुष्टि एसपी हरिकृष्ण शर्माले गरे ।
दुवै नेतालाई झण्डै आधा दर्जन जिल्लामा मुद्दा चलाएर त्यहाँ पुर्याइएको हो । राईलाई गएको असार १६ गते काठमाडौंको नेपालटारबाट खुला कार्यक्रमबाट दिउँसो र पुनलाई असार १९ गते राति ९ बजे लाजिम्पाटबाट गिरफ्तार गरिएको थियो ।
त्यसपछि राईलाई मोरङ, इलाम, भोजपुर हुँदै संखुवासभा र पुनलाई बर्दिया, कैलाली हुँदै बाँकेलगायत जिल्ला घुमाएर अदालतको आदेशपछि छाड्दै र पुनः गिरफ्तार गर्दै आइरहेको छ ।
दाङमा उनीहरुमाथि ‘विष्फोटक पदार्थ’ र ‘कर्तव्य ज्यान’को अभियोग रहेको जनाइएको छ ।
यसअघि नेकपाकै प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्यहरु जीवन्त, गम्भीर र शिलुलाई पनि दाङमा सोही मुद्दा चलाइएको छ । तर सर्वोच्च अदालतको आदेशमा उनीहरु सबैले मुक्ति पाइसकेका छन् ।
जीवन्त र गम्भीरलाई अर्को अभियोगमा शुक्रबारै सर्वोच्च परिसारबाट पुनः गिरफ्तार गरी संखुवासभा लगेका छन् । तर शिलु भने आज रिहा भएकी छन् भने उनीसँगै काभ्रेमा संगठित अपराधको मुद्दा खेपिरहेका केन्द्रीय सदस्य आजाद पनि सर्वोच्चको आदेशमा रिहा भएका छन् ।
राजनैतिक गतिविधि गरिरहेका पार्टीका नेताहरुलाई प्रहरीले झुटा मुुद्दा लगाएर दुःख दिने गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । पक्राउ गर्नुको कारण नभएपछि प्रहरीले बनावटी मुद्दा लगाएर दुःख दिएको भन्दै विरोध र विभिन्न खालका टिका टिप्पणी भैरहेकोले उनलाई रिहा गर्नैपर्ने दवाव बढेर गएको छ ।