ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। अनुसन्धानका क्रममा सयौं डकुमेन्ट भेटिएको र प्रविविको प्रयोग गरेर भिजिट भिसालाई रोजगार भिसा बनाइएको समाचारमा उल्लेख छ ।
अन्नपूर्णले दूतावासनै मानव तस्करीमा लागेको पुष्टि अगाडि लेखेको छ– दुवईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले युएई ल्याएको २ सय ७१ नेपाली यही विधिबाट ल्याइएको छ । यस्ता गलत काम गर्नेमाथि दूतावासले काम गर्नुपर्ने भए पनि उल्टै साथ दिएको छ ।’
समाचार अनुसार ल्याउन चाहेका नेपालीको शुरुमा भिजिट भिसा निकाल्ने र त्यसलाई नक्कली रोजगार भिसा बनाइ नेपाली दूतावासबाट प्रमाणित गराउने गरिएको छ ।
अन्नपूर्णमै कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान राखेको समाचार छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा नौ पदाधिकारीमा सात जना मनोनित हुने व्यवस्था छ ।
बहाना भिसा जाँच्ने संयन्त्र
नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागर फुँयालले नियतवश आफूहरूले कुनै गल्ती नगरेको दाबी गरे। ‘पूर्वस्वीकृति लिएका डिमान्डहरूका आधारमा भिसा भेरिफाई गरेको हो,’ उनले भने, ‘युएई सरकारले जारी गरेको भिसाको अधिकारिता जाँच गर्ने हामीसँग कुनै संयन्त्र छैन।’
उनले भिजिट भिसालाई फोटोसप वा अन्य माध्यमबाट परिवर्तन गरी नक्कली इम्प्लोइमेन्ट बनाइएको पुष्टि भए कारबाही गर्ने उनले बताए।
फुँयालले आफूले पूर्वस्विकृत डिमान्डको आधारमा भेरिफाई गरेको बताए पनि उनी कार्यवाहक भएपछि गत २९ जनवरी २०१८ मा साम ईन्टरनेसनल म्यानपावर कम्पनीलाई ६६ वटा भिसाको डिमान्ड स्वीकृत गरेका छन्। यसैगरी उनले फेब्रुअरी २ तारिखमा ३१ भिजिट भिसालाई इम्प्लोइमेन्ट भनेर प्रमाणित गरेका थिए। अघिल्ला कार्यवाहक राजदूत टण्डनले गरेको भिसाको भेरिफिकेसनको संख्या भने खुलेको छैन।
सामान्यत दूतावासले यूएईमा कार्यरत नेपालीले आफन्तहरू भिजिट भिसामा ल्याउनु परेमा कारणसहित नेपाली दूतावासमा निवेदन दिएमा सिफारिस दिने गरिन्छ। डिमान्ड स्वीकृत भइसकेको वा विभागबाट भेरिफाई गर्ने भनेको बाहेक कुनै पनि ईम्प्लोईमेन्ट भिसा प्रमाणित गर्न आवश्यक हुन्न। तर पूर्व कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले तस्करको मिलेमतोमा ३० दिने भिजिट भिसालाई इम्प्लोइमेन्ट भिसा भनी प्रमाणित गरी दलालहरूलाई भिजिट भिसाको व्यापार सहज बनाइदिएका थिए।