विभिन्न प्रलोभनमा पारि युवा युवतीलाई अबैध तरीकाले वैदेशिक रोजगारमा पठाई ठगी धन्दा संचालन गर्ने पोखराको सृजनाचोकस्थित लक्की म्यानपावर कम्पनीका संचालक रसबहादुर गुरुङलाई बिप्लब नेतृत्वको नेकपाले कालो मोसो दलेर कारबाही गरेको छ ।
आज दिउँसो सो म्यानपावर कम्पनीमा पुगेका नेकपा र योङ्ग रेड फोर्सका कार्यकर्ताले म्यानपावर संचालक गुरुङलाई कालो मोसो दलेर कारबाही गरेको हो । सो म्यानपावर कम्पनीमा तालाबन्दी समेत गरिएको छ ।
कारवाही पश्चात योङ्ग रेड फोर्सका नाममा जारी ५ बुँदे कारण सहितको पर्चामा गुरुङले बिना इजाजत अबैध रुपमा म्यानपावर संचालन गर्दै दर्जनौ युवाहरुलाई बिदेशमा अलपत्र पारेको , सेक्युरिटी कम्पनीको नाममा म्यानपावर धन्दा चलाएको आरोप लगाइएको छ । त्यसैगरि महिलाहरुलाई दिल्लीको बाटो हुँदै खाडी मुलुकमा बेचबिखन गरेको गम्भीर आरोप समेत सोही पर्चामा लगाइएको छ ।

उक्त म्यानपावरबाट विदेश गएका र अलपत्र परेर फर्किएका करिब एक दर्जन पिडित युवा-युवतीले सो म्यानपावरका संचालक गुरुङलाई कारवाही गरी आफुहरुको फंसेको रकम फिर्ता गराइदिन नेकपा कास्कीमा उजुरी परेको समाचार स्रोतले जानकारी दिएको छ । अझै पनि नेकपाको कारबाहीलाई अटेरी गरे थप शसक्त कारबाही गर्ने चेतावनी समेत नेकपा कास्की र उसको सहायक संगठन योङ्ग रेड फोर्स कास्कीले दिएको छ ।