पार्टीले महानगरको कामकारबाहीमा अनावश्यक दबाव दिइएको भन्दै वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । पार्टीभित्रको कार्यशैलीमा असन्तुष्टि बढेकाले आफूले पार्टीबाट अलग बस्ने निर्णय गरेको बताउने सरावगी संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयरमा निर्वाचित भएका थिए।
मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन्। अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ।
तर, फोरमका नेताहरुले भने मेयर सरावगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै पार्टीभित्र आलोचना मात्र भएको टिप्पणी गरेका छन्।
बुधबार बसेको वीरगन्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण सरावगीलाई गराउने निर्णय पार्टीले गरेको थियो। नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको थियो।
मेयरको रुपमा जनताको हितमा काम गर्नु पर्नेमा पार्टीको हितमा काम गर्न दबाब आएकाले अलग हुने निर्णय गरेको उनले स्वीकार गरेका छन्।