नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसंग वार्ता गर्न न्युनतम भन्दा पनि न्यून वातावरण नबनेको भन्दै वार्ता गर्न अस्वीकार गरेको छ l
सो पार्टीका स्थायी कमिटिका सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शना’ले पार्टीको मुखपत्र ईरातोखबर डट कमसंग कुरा गर्दै वार्ता गर्न न्युनतम भन्दा पनि न्यून वातावरण नबनेको भन्दै सरकारी वार्तातोलीसंग वार्तामा बस्न अस्वीकार गरेका हुन् l
उनले वार्ता गर्नका लागि पार्टीका तर्फबाट न्युनतम शर्तहरु अघि सारेका छन् l नेकपा नेता सुदर्शनले सरकारले साँच्चै वार्ता गर्ने भए पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका झुट्ठा मुद्दा खारेज गरिनुपर्ने, बन्दी रहेका नेता तथा कार्यकर्ता रिहा हुनुपर्ने, धरपकड र गिरफ्तारीप्रति सार्वजनिक रूपमै माफी माग्नुपर्ने लगायत तीन पूर्व शर्त अघि सारेका छन् l
सरकारले समग्र वातावरण बनाउँदै औपचारिक रूपमा स्पष्ट गरेर वार्ताटोली आएमा वार्तामा बस्न सकिने जनाउंदै नेकपाले वर्तमान अवस्थामा कुनै वार्ताको सम्भावना नरहेको स्पस्ट पारेको छ lनेता सुदर्शनले भनेका छन्, “अहिलेको अवस्थामा वार्ता हुनै सक्दैन’
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकारले बनाएको वार्ताटोलीको औचित्य र अर्थ नभएको स्पस्ट पारे । एकातिर आफ्ना नेता–कार्यकर्ता धमाधम पक्राउ गर्ने अर्काेतिर वार्ताको नाटक गरेर सरकारले षड्यन्त्र गरिरहेको भन्दै नेता सुदर्शनले वार्ताटोली नै अस्पष्ट भएको र एकातिर वार्ताको कुरा गर्ने सरकारले अर्कोतिर आफ्नो पार्टीका नेता–कार्यकर्ता धमाधम गिरफ्तार गरिरहेकोमा आपत्ति प्रकट गरेका छन् ।
वर्तमान सरकार दलाल पुँजीवादबाट फासिवादतर्फ गइरहेको भन्दै उनले यसले राष्ट्रघात, जनघात, महँगी, करका नाममा चर्को कर उठाउने काम गरेको पनि बताएका छन् । आफूहरू सैद्धान्तिक रूपमा वार्ताविरोधी नभएको भन्दै सरकार बाहिर वार्ता भन्ने गरेको तर भित्र दमन गर्ने योजनामा रहेकाले वार्ताको वातावरण नबनेको उनको भनाइ छ ।
‘हाम्रो पार्टीका स्थायी समिति सदस्यलगायत नेतालाई जिल्लाजिल्ला दौडाउने, हतकडी लगाउने ? विश्वमा कहीँकतै नभएको गतिविधि सरकारले गरेको छ । यस्तो बेला वार्ता हुन सम्भव छैन’, सुदर्शनले भनेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीलगायत सबै आन्दोलतरत पक्षसँग वार्ता गर्ने भन्दै सरकारद्वारा गठित पाँच सदस्यीय वार्ताटोलीले सोमबार पत्रकारसम्मेलन गरी द्वन्द्वरत पक्षहरूसँग वार्ता र संवादको आव्हान गरेको थियो l तर पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा कुन कुन द्वन्द्वरत पक्षलाई वार्तामा बोलाइएको हो भन्ने बारेमा खलाइएको छैन l तर आम जनमानसमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्नका लागि सरकारले उक्त वार्ताटोली गठन गरेको भन्ने बुझाइ रहेको छ ।