नेपाल सरकारका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको स्वामित्व रहेको भनिएको जनमैत्री अस्पतालमा पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले तालाबन्दी गरेको छ । राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पतालमा शर्माले जनमुक्ति सेनाको तत्कालीन डेपुटी कमाण्डर हुँदा क्यान्टोनमेन्टबाट करोडौं हिनामिना गरेर लगानी गरेको भन्दै पूर्व जनमुक्ति सेनाका लडाकुहरुले विगतदेखि आन्दोलन गर्दै आएका थिए ।
यसपटक पनि पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले अस्पतालको गेटमा ब्यानर झुन्डाएपछि अस्पताल पूर्णतः बन्द भएको बताइएको छ । ‘गाँस काटेको पैसामा कसैको रजाइँ नहोस्, हाम्रो आँसु, पसिना र रगतमा पहुँचवालाहरुको रजाइँ नहोस्’ भनेर व्यानरको अगाडि लेखिएको छ ।
अनि ठूलो अक्षरमा लेखिएको छ– ‘हामी सदन र सरकारमा छैनौं । अलिशान दरबारमा पनि छैनौं । हामी सडकमा छौं ।’ व्यानरको अन्त्यमा लेखिएको छ– ‘खबरदार पूर्व पिएलएको पसिनामा रातारात खरिद बिक्री नहोस् ।’
बन्द भएको अस्पताल र गेटमा पूर्व जनमुक्ति सेना नेपाल जनमैत्री सरोकार संघर्ष समितिको नाममा झुन्डाइएको ब्यानरका बारेमा अस्पतालका कर्मचारी एवं शर्माका आफन्त पर्ने विवश शर्मालाई बुझ्न खोज्दा उनले अस्पताल लिलाममा रहेको बताएका छन ।
गत फागुन महिनादेखि बन्द रहेको अस्पतालमा पूर्व जनमुक्ति सेना नेपालको तर्फबाट कसले र किन व्यानर झुन्डाएर राख्यो भन्नेबारे पनि विवश अनविज्ञ रहेको बताए ।