सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता

सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ साउन २०७५
  • 17.6K
    Shares

पुरातात्विकस्थल कपिलवस्तुको तिलौराकोटमा निर्मित सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता भएको छ । सो सर्वजनिक शौचालय मर्मत तथा रंगरोगनका लागि १० लाख विनियोजन गरिएको थियो । वडा ३ मातहतको काममा झण्डै आठ लाख अनियमितता भएको स्थानीयले दाबी गरेका छन् ।

शौचालय मर्मत तथा रंगरोगनका लागि कपिलवस्तु नगरपालिकाले योजनासमेत बनाएको छैन । स्थानीयले स्टिमेट मागेपछि वडाध्यक्ष प्रकाश गैरेले स्टिमेटको सट्टा २० हजार रकम लिएर चुप बस्न आग्रह गरेपछि अनियमितताको रहस्य बाहिर आएको बताइएको छ ।

योजनाबिनै बनेको शौचालयमा प्रयोग भएका पाइप तथा धारा खरिदमा अनियमिता भएको स्थानीय बासिन्दाको दाबी छ  । तिलौराकोटका पथप्रर्दशकसमेत रहेका स्थानीय राजकुमार यादवले सार्वजनिक शौचालयमा ८ लाखभन्दा बढी रकम अनियमितता भएको आंशका गरे । यसबारे आवाज उठाउँदा वडाध्यक्ष गैरेले २० हजार रुपैयाँ दिन्छु भन्दै आवाज नउठाउन आग्रह गरेको उनले दाबी गरे  l ‘पटकपटक यसको लागत स्टिमेट माग्दै आएको छु, अहिले दुई महिना बित्यो, वडाध्यक्षले दिनै चाहँदैनन्’, उनले भने । अनियमितताबारे जिल्ला प्रशासन, नगरपालिकामा जानकारी दिएको भए पनि सुनुवाइ नभएको उनी बताउँछन् ।

वडाध्यक्ष गैरेले भने शौचालय निर्माणमा १० लाख बजेट आफूले छुट्याएको भए पनि निर्माणका लागि उपभोक्तालाई जिम्मेवारी दिएको बताए । यस विषयमा आफू जानकार नभएको भन्दै इन्जिनियरलाई सोध्न आग्रह गरे । ‘म यस विषयमा बोल्न चाहन्नँ, केके सोध्नुपर्ने हो इन्जिनियरलाई सोध्नू’, उनले भने, ‘त्यो अधिकार इन्जिनियरको हो ।’ शौचालय मर्मतका लागि करिब ४ लाख खर्च भएको उनले स्विकारे । अरू बचेको रकम अन्य योजनामा खर्च भएको बताउने वडाध्यक्ष गैरेले कुन योजना भन्ने खुलाउन सकेनन् ।

शौचालय निर्माणका लागि तौलिहवाका व्यापारी अर्जुन चापागाईंलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ । उपभोक्ता समितिको गठन गर्दा सम्बिन्धत गाउँ वा टोलको हुनुपर्ने भए पनि वडाध्यक्ष गैरेले तौलिहवाका व्यापारीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका हुन् । आफ्नो मान्छेलाई अध्यक्ष बनाएर नगरपालिका जनप्रतिनिधिले अनियमितता गरेको स्थानीयको आरोप छ ।

संसारका बौद्धमार्गीहरूको आस्थाको केन्द्र तिलौराकोट लामो समयदेखि शौचालयविहीनझैं छ । शौचालय नहुँदा पर्यटकलाई शौच गर्न समस्या हुँदै आएको छ । साथै जथाभावी शौच गर्दा पर्यटकीय क्षेत्र नै दुर्गन्धित हुँदै आएको छ । लुम्बिनी विकास कोषले यसअघि नैै तिलौराकोटमा सार्वजनिक शौचालयको भवन निर्माण गरेको भए पनि बजेट अभावका कारण पूरा नहुँदा प्रयोगविहीन थियो ।

विकास कोषले रकम विनियोजन गर्न नसकेपछि कपिलवस्तु नगरपालिकासँग माग गरिएको थियो । सोहीबमोजिम १० लाख विनियोजन भएको विकास कोषका तिलौराकोट प्रमुख माधव आचार्यले बताए ।

तर माग बजेटअनुसार रकम आए पनि काम राम्रो नभएको कोषका कर्मचारीको गुनासो छ । वडाले पुरानै शौचालयलाई मर्मतसम्भारबाहेक केही गरेको छैन । पुरानोलाई नयाँ बनाउन महिला, पुरुष युरिनल तीन÷तीन वटा, दुई वटा कम्बड मात्र राखिएको छ । साथै पुराना नललाई केही मर्मत गरिएको छ भने फुसको सेफ्ट्यिांकी बनाइएको छ । यी सामग्री पनि प्रयोगयोग्य नभएको कोषका कर्मचारी बताउँछन् । पानी पर्याप्त नआउँदा शौचालयमा दुर्गन्ध फैलिएको छ । शौचालयमा केही अत्याधुनिक प्रविधि प्रयोग गरिएको भए पनि पर्याप्त पानी नहुँदा शौच थुप्रिएको छ । पानी आउने पाइपसमेत निकै गुणस्तरहीन र आवश्यक स्थानमा फिट गरिएको छैन ।

 

 

प्रतिक्रिया