मुक्तहलिया पुनर्स्थापनाका नाममा तीन करोड बढी रकम भ्रष्टाचार

मुक्तहलिया पुनर्स्थापनाका नाममा तीन करोड बढी रकम भ्रष्टाचार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ साउन २०७५
  • 16.5K
    Shares

डडेल्धुरा जिल्लामा मुक्तहलिया पुनर्स्थापनाका नामको तीन करोड बढी रकममा भ्रष्टाचार भएको खुलासा भएको छ ।

मुक्तहलियाका लागि जिल्ला मालपोत कार्यालय डडेल्धुरामार्फत आएको २३ करोड मध्ये ३ करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ ।

 

जिल्लाका १२ सय हलियाका लागि आएको रकम मध्ये १२ हजारका दरले मालपोत कार्यालयले घूस मागेको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयन भइरहेको मुक्तहलिया पुनर्स्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ ।

मुक्त हलिया पुनस्र्थापना कार्यक्रमका लाभान्वित ब्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ सम्वद्ध व्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन थालेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएका व्यक्तिहरुसँग स्पष्टीकरण माग गरी ठाडो बयान लिएर थप कारवाहीका लागि अख्तियारमा पठाइएको बताएका छन् ।

मुक्त हलियाबाट विभिन्न वाहनामा २० हजारदेखि ५५ हजार रुपैयाँ घुस लिइएको उजुरीमा उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्राप्त उजुरी र अन्य सूचनाका आधारमा सो प्रकरणको विस्तृत छानविन भइरहेको बताएका छन् ।

अख्तियारले छानबिन शुरु गरे लगत्तै मुक्तहलियाबाट घुस लिएका ब्यक्तिहरुले धमाधम घुस लिएको रकम फिर्ता गरिरहेको र रकम पाइसकेपछि उजुरीकर्ताहरु उजुरी फिर्ता लिन जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन् ।

उनले उजुरीकर्तानै पछाडि हट्न थालेपछि अनुसन्धानमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।

डडेल्धुरा जिल्लामा कुल दुई हजार ५ सय ५१ जना मुक्त हलिया छन् । जसमध्ये एक हजार ८९५ जना प्रमाणिकरण भइसकेका छन् ।

मुक्तहलिया परिवारलाई जग्गा खरिदका लागि दुई लाख, घर मर्मत सम्भारका लागि एक लाख २५ हजार र घर निर्माणका लागि तीन लाख २५ हजार रुपैया अनुदान उपलब्ध गराइने मालपोत कार्यालय डडेल्धुराले जनाएको छ ।

आर्थिक वर्ष ०७१/७२ बाट कार्यान्वयन भइरहेको मुक्त हलिया पुनस्र्थापना कार्यक्रममार्फत पहिलो वर्ष घर निर्माणका लागि २८ जना, घर मर्मत सम्भारका लागि २० जना र जग्गा खरिदका लागि १५ जनाले अनुदान प्राप्त गरेका थिए भने आर्थिक वर्ष ०७२/७३ मा जग्गा खरिदका लागि १५ जना, घर निर्माणका लागि ३० जना र घर मर्मतका लागि ४० जनाले अनुदान प्राप्त गरेका थिए ।

यसैगरी आर्थिक वर्ष ०७३/७४ मा जग्गा खरिदका लागि ६८, घर निर्माणका लागि २३ र घर मर्मतका लागि ७२ जनाले अनुदान प्राप्त गरेका थिए ।

गत आर्थिक वर्षमा जग्गा खरिदका लागि दुई सय, घर निर्माणका लागि चार सय र घर मर्मतका लागि छ सय जनाले अनुदान प्राप्त गरिसकेका छन् ।

अनुदान प्राप्त गरेका मुक्तहलियाहरुले हलियाको सूचीमा नाम समावेश गरिदिएको भन्दै राष्ट्रिय हलिया मुक्ति समाज महासंघका केही पदाधिकारी र मालपोत कार्यालय डडेल्धुराका कर्मचारीहरुले कमिसन लिएको भन्दै उजुरी दिएका हुन ।

हरेक मुक्तहलियाबाट ठूलो रकम कमिसन लिएको बिषयमा मुक्त हलिया समाज महासंघ भित्र तीब्र विवाद छ ।स्रोत

महासंघका जिल्ला अध्यक्ष तुलाराम सार्की, महासंघकै तर्फबाट नियुक्त सुपरभाइजर मानबहादुर बिक, मालपोत कार्यालयका लेखापाल दिलबहादुर ऐरका नाममा घुस लिएको भन्दै उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसै प्रक्ररणमा पत्रकार करन ताम्राकारले समेत घुस लिएको भन्दै उजुरी परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ७ का सचिव ताम्राकारले मुक्त हलियाका नाममा रकम दुरुपयोग गर्ने व्यक्तिहरुको पर्दाफास हुन थालेपछि पत्रकारलाई मुछ्न झुटा उजुरी दिइएको बताएका छन् ।

घर निर्माण र मर्मत कार्यसम्पन्न नगरिकनै कतिपयले अनुदान रकम दुरुपयोग गरेका छन भने जीवनभर कहिले हलो नसमातेका दलित अगुवाहरुले समेत अनुदान रकम दुरुपयोग गरेका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले जिल्ला प्रशासन कार्यालय माथिनै झुटो आशंका उत्पन्न भइरहेको दुखेसो पोखेका छन ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित मुक्त हलिया पुनर्स्थापना जिल्ला समितिको निर्णय अनुसार कार्यक्रम कार्यान्वयन हुने गरेको छ भने राष्ट्रिय मुक्त हलिया समाज महासंघका प्रतिनिधिहरु समेत पुनर्स्थापना समितिका साथै कार्यदलमा रहेका छन् । स्रोत अनलाइन खबर डट कम 

प्रतिक्रिया