आफूलाई सकृय र निष्पक्ष अनि अब्बल प्रहरी अधिकारी प्रमाणित गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना यसितखेर पोखरामा सकृय छन् । उनी राती होस् या दिउँसो आफैं फिल्डमा उत्रिएर चेकिङ गरिरहेका हुन्छन् । उनी दैनिक जसो आफूले गरेका कार्यहरुको प्रचार–प्रसार गर्न समाचार बनाएर पत्रकारहरुलाई प्रहरीको इमेलबाट पठाउँछन् । तर करीब डेढ हप्ताअघि विश्वकप फुटबलमा हुने हारजितको विषयलाई लिएर प्रति व्यक्ति ५० हजार रुपियाँ बाजी थाप्ने सात जनालाई पोखराको लेकसाइडबाट पक्राउ गरेर हिरासतमा राखेपनि यो समाचार भने उनले सार्वजनिक गरेका छैनन् ।
उनले यो समाचार सार्वजनिक नगर्नुको रहस्य भने अर्कै छ । सट्टेबाजी गरिरहेका सात जनालाई तीनलाख ५० हजार रुपियाँसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीले केही सार्वजनिक अपराध सम्बन्धि ऐन २०२८ अन्तरगत मुद्दा चलाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको सो मुद्दाका सात अभियुक्तमध्ये दुई जना अहिले उपचारको वहानामा डाक्टरको सिफारिसमा फिस्टेल हस्पिटल पोखरामा उपचाररत रहेका छन् । बाजी थापेको भनेर समातिएका सात जनालाई केही सार्वजनिक अपराध ऐन मुद्दा चलाएपनि बरामद भएको रकम भने कास्की प्रहरीले देखाएको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रमान गुरुङ कानूनतः गलत मानिएको खेलकुदमा बाजी थाप्ने सानो समूह पोखराबाट समातिएको र त्यसैमार्फत् ठूलो समूह समात्ने प्रयास गरिएको बताउँछन् । उनी भन्छन्, “पक्राउ गरिएका सातै जनालाई केही सार्वजनिक अपराध मुद्दा चलाएका छौं । उनीहरुमार्फत् ठूलो समूह समात्छौं र अहिले समातिएकासहित सबैलाई जुवा तास नियन्त्रण ऐन अन्तरगत मुद्दा चलाउँछौं ।” बाजी थाप्ने ठूलो समूह समातिएको अवस्थामा अहिले बरामद भएको रकम पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरिने कास्की प्रहरी प्रवक्ता डिएसपी गुरुङले दाबी गरे ।
अघिपछि केही सार्वजनिक अपराध ऐन अन्तरगत पक्राउ गरिएका व्यक्तिहरुको नाम समेत जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको थियो । बाजी थाप्ने ठूलो समूह समात्ने नाममा कास्की प्रहरीले हाल समातिएका सात जनालाई केही सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाएको छ । तर नाम सार्वजनिक गर्न आनाकानी गरिरहेको छ । जुन रहस्यमय मानिएको छ । यसबारे कास्की प्रहरी प्रवक्ता गुरुङ अघि थप्छन्, “यिनको नाम सार्वजनिक नगरौं कि ठूलो समूह भाग्न सक्छ ।”
बैशाखको तेस्रो साता जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यालय प्रमुखको रुपमा सरुवा भएर आएका एसपी ओमबहादुर राना यसभन्दा अघि महानगरीय प्रहरी परिसरको सुरक्षा महाशाखामा कार्यरत रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा रहँदा रक्तचन्दन कारोवारीसँग मिलेको भन्ने आरोप लागेको थियो । आफ्नो विवादित विगतलाई सच्याउन लागिपरेका एसपी ओमबहादुर रानालाई कास्की जिल्लामा आएपछि राम्रै काम गरेको दाबी गरिँदै आएको थियो ।