दलाल राज्यसत्ताकाबिरुद्ध बैकल्पिक सरकार घोषणा गरेको नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई व्यापक धरपकड गरिरहेको वर्तमान कथित वाम सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार प्रयोग गरिरहेका राजनीतिक कार्यकर्ता तथा सामाजिक अभियाँतालाई समेत निरङ्कश तरीकाले दमन गर्दै गिरफ्तार गर्न शुरु गरेको छ l जनताको बिरोधको आवाज सुन्न नसकेर ठाउँ ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको वर्तमान दलाल सरकारले स्वास्थ्य क्षेत्रको सुधारको आवाज उठाएर अनसन बस्न खोजेका सामाजिक अभियन्ता गोविन्द केसीलाई जुम्लाबाट र शान्तिपूर्ण प्रदर्शन गरिरहेका विवेकशील साझा पार्टीका संयोजकसहित ९ जनालाई गिरफ्तार गरेको छ।
प्रहरीले काठमाण्डौको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका उज्जवल थापा सहित ९ जनालाई नियन्त्रणमा लिइ वैद्यखानामा राखिएको विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेले बताए।
शनिबार माइतीघर मण्डलामा उनीहरूले नागरिक स्वतन्त्रता खोस्न दिँदैनौं, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, अधिकारकै लागि लड्छु भन्ने अनि आफैं नागरिकको अधिकार खोस्नेलगायतका पम्प्लेट लिएर विरोध प्रदर्शन गरेका थिए।
यसैबीच प्राप्त जानकारी अनुसार, जुम्लाबाट आमरण अनसनमा बस्न लागेका डा. गोविन्द केसीलाई पक्राउ गरिएको छ । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आएका केसीले पक्राउ परिसकेपछि अब हिरासतमै भए पनि अनसन बस्ने अडान लिएका छन् ।
आज दिउँसो २ बजेदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने उनको तयारी थियो । तर प्रहरीले डा.केसीलाई अस्पताल परिसरमा प्रवेश गर्न पनि रोक लगाएको थियो ।
डिएसपी डा तपन दाहालका अनुसार अनसन बस्न नदिएपछि डा. केसी प्रहरी कार्यालयमै जान्छु भनेपछि ल्याइएको हो । डिएसपी दाहालका अनुसार अहिले डा. कसी कार्यालयको प्रतीक्षालयमै छन् ।
डा. केसीलाई करिब ३ सयभन्दा बढी स्थानीयले उनलाई साथ दिएका थिए । हिजो स्थानीय प्रशासनले प्रतिष्ठान वरिपरि निषेधित क्षेत्र घोषणा गरेपछि स्थानीयको साथमा उनी जिल्ला प्रशासन कार्यालय घेराउमा थिए ।