जेसिभी डोजर चलाउने बारे आफुलाई ज्ञान नभएता फुटपाथ उद्घाटन गर्न डोजर चलाउन खोज्ने क्रममा भएको घटनाको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले नैतिक जिम्मेवारी लिएका छन् । मेयर जिसीले शनिबार एक प्रेस वक्तव्य जारी गरी सो घटनाको नैतिक जिम्मेवारी लिएका हुन् ।
मेयर जिसीले विज्ञप्तिमा हेभी मेसिनरी औजारको प्रयोग गरी फुटट्र्याक निर्माणको शुभारम्भ गर्दा अपनाउने पर्ने पर्याप्त सावधानी नअपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना घटेको स्पस्ट पारेका छन् । ‘सोच्दै नसोचेको र अकल्पनीय घटना भएको छ,’ मेयर जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले एउटा पाठ सिकाएको महसुस गर्दै यो दुर्घटनालाई सोही रुपमा बुझिदिन नगरबासीमा अनुरोध गर्दछु । ’
विज्ञप्तिमा घटनामा घाइते भएका पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ, नगरबासी गौरी पौडेल, केशव बरालको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
घटनापछि पनि घाइतेलाई प्रत्यक्ष सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिइएको र महानगरपालिकाले आवश्यक उपचारको सम्पूर्ण व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।