त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी वेपत्ता भएको छ । गत असोजमा विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारको जिम्मा पाएको चीनको सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कविहीन छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई १८ महिनाभित्र ३ सय मिटर धावनमार्ग निर्माणको जिम्मा दिएको थियो ।
विमानस्थल विस्तारअन्तर्गत एनसीभी–१ प्रोजेक्टको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको थियो । प्राधिकरणसँग गत असोजमा सम्झौता भएको तर हालसम्म पनि सम्पर्कमा नआएको प्रवक्ता विरेन्द्र श्रेष्ठले बताएका छन् । “अव उक्त चिनियाँ कम्पनीसंगको ठेक्का सम्झौता रद्द गरेर नयाँ टेन्डर निकाल्ने तयारी गरिरहेका छौं,” प्रवक्ता श्रेष्ठले बताएका छन् । प्राधिकरणले चिनियाँ कम्पनीलाई ५६ करोड १८ लाख ७६ हजार रुपैयाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएदेखि एकपटक पनि कम्पनी सम्पर्कमा नआएको श्रेष्ठले बताए ।विमानस्थल विस्तारका अन्य दुई काम भने नेपाली ठेकेदार कम्पनीहरूले नै अगाडि बढाएका छन् । एसीभी–२ अन्तर्गत टर्मिनल भवन निर्माणको जिम्मा पाएको नेपाली ठेकेदार कम्पनी शर्मा प्रेरा आर्सिसले काम थालेको छ । उक्त कम्पनीलाई २१ महिनामा सम्पन्न गर्ने गरी ८७ करोड ८ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
यस्तै, विमानस्थल विस्तारअन्तर्गत नयाँ सिष्टम, तेलको पाइपलाइनलगायत निर्माणको जिम्मा पाएको नेपाली ठेकदार कम्पनीले पनि काम सुरु गरेको छ । एनसीभी–३ प्रोजेक्टको जिम्मा आर्सिस प्रेरा कम्पनीले पाएको छ । आगामी १५ महिनामा सम्पन्न गर्नेगरी कम्पनीले २१ करोड ७२ लाख ४५ हजार रुपैयाँमा ठेक्का पाएको थियो ।
पार्किङ विस्तारको ठेक्का नै हुन सकेन
प्राधिकरणले दुई वर्षअघि स्पेनिस् कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँगको ठेक्का रद्द भएयता काम अगाडि बढाउन प्राधिकरण असफल भएको हो । नयाँ आउने पर्यटनमन्त्रीलाई नयाँ र साना विमानस्थलको मोहमा फसाउने प्राधिकरण नेतृत्व मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विस्तारमा ध्यान दिन सकेको छैन । विमानस्थको आइसीभी प्रोजेक्टअन्तर्गत १९ वटा विमान राख्न सकिने गरी पार्किङ वे विस्तार गर्ने लक्ष्य राखिएको थियो ।