उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई केहीबेर अघिसम्म क्रुर तानाशाह देख्ने संयुक्त राज्य अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई प्रतिभाशाली र आफ्नो देशको माया गर्ने नेता भनेर प्रशंशा गरेका छन् l मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि भएको बृहत् सम्झौता-पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको प्रशंशा गरेका हुन् । ट्रम्पले भने, “‘किम निकै प्रतिभाशाली रहेछन । किमले आफ्नो देशलाई निकै माया गर्दा रहेछन्।’
ट्रम्पले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै किमलाई अमेरिका भ्रमणको निम्तो समेत दिने बताएका छन्। सम्झौतामा हस्ताक्षर गरेसँगै ट्रम्पले आणविक नि:शस्त्रीकरणको प्रक्रिया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिएका छन्।
उता किमले भने ट्रम्पसँगको वार्ताका दृश्य विश्वले हेरिरहेको र उनीहरुलाई कुनै काल्पनिक फिल्मको दृश्य झैं लागिरहेको हुनसक्ने प्रतिक्रिया दिएका छन् । ‘यहाँसम्म आइपुग्न निकै कठिन थियो । धेरै बाधाअड्चन पनि थिए,’ किमले भने । यस्तै ट्रम्पले भने वार्ता निकै राम्रो ढंगमा अगाडि बढिरहेको प्रतिक्रिया दिएका छन् । ‘सबैले वार्ता नहुने अनुमान गरिरहेको भएपनि ऐतिहासिक शिखर वार्ता भएको र यो राम्रो दिशामा अगाडि बढिरहेको छ,’ ट्रम्पले भने ।