प्रहरीको नियन्त्रणबाट हत्कडीसहित भागेका कास्की जिल्लाको मादी गाँउपालिका वडा नं.-१० थुम्सीकोट मकैखोला घर भई ऐ.पोखरा लेखनाथ महानगरपालिका-५ प्रस्याङ डेरा गरी बस्ने वर्ष १९ को राज कुमार परियारलाई प्रहरीले करिब १० घण्टापछी पक्राउ गरेको छ ।
पोखराको पर्स्यांगबाट भागेका परियारलाई प्रहरीले प्रस्याङ स्थित फिर्केको पुल नजिकै लुकिछिपी बसेको अवस्थामा हतकडी सहित पक्राउ गरेको हो l
ज्यामी काम गर्ने परियारले मादक पदार्थ सेवन गरी डेरा कोठामा तोडफोड तथा हो-हल्ला गर्दै झ्यालको सिसाहरु फुटाउन थालेपछि उनकाबिरुद्ध घरधनि भिम बहादुर केसीले टेलिफोनमार्फत वडा प्रहरी कार्यालय बैदाममा खबर गरेका थिए l
खबर पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले परियारलाई पक्राउ गरी हत्कडी लगाएर लैजाँदै गर्दा परियार हत्कडीसहित मकैबारीतर्फ भागेका थिए l
उनी भागेपछि जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट ब्यापक रुपमा प्रहरी टोली परिचालन गरी ब्यापक खोजलतालस गरेको थियो l हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका परियार्बिरुद्ध आबस्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।