सर्वहारावर्गको लागि भनेर दशवर्षे महान जनयुद्ध लडेका पुष्पकमल दाहाल प्रचण्डले त्यसै माओवाद त्यागेर ऐतिहासिक पार्टीलाई एमालेमा विलय गरेका रहेनछन् । उनले पार्टीभित्र आएको सैद्धान्तिक एवं व्यवहारिक विचलनदेखि वाक्क बनेका प्रचण्डलाई आफूले आधारभूत वर्गलाई धोखा दिएकोमा आत्मग्लानी भएको छ । त्यसैकारण आक्रोशित क्रान्तिकारी नेपाली जनताले पिटी पिटी मार्ने हुन् कि भन्ने उनको मनमा डर, त्रास र चिन्ता रहेको पाइएको छ ।
राष्ट्रिय सभागृहमा बिहीबार साँझ आयोजित पार्टी एकीकरण घोषणा सभामा प्रचण्डले दिएको भाषणमा यस्तै अभिव्यक्तिहरु झल्किएका थिए । उनले आफ्नो भाषणमा पार्टी एकीकरण गर्नुपर्ने वाध्यात्मक कारणहरु पनि खुलाएका थिए ।
पार्टी एकीकरण भएर खुशियाली साट्न र कार्यकर्तालाई शुभकामना दिन करीब २५ मिनेट खर्चिएका प्रचण्डले वास्तविक रुपमा आफूलाई प्रचण्डको रुपमा स्थापित गरेको “दशवर्षीय महान जनयुद्ध” भनेर उच्चारण गर्न सकेनन् । उनले आफ्नो भाषणमा जनताको मुक्तिका लागि बीसौं वर्ष भोको र अनिदो खटेको तथा आफ्नो लागि भनेर केही नर्सोचेको सुनाएका थिए । महान जनयुद्धलाई “महान युद्ध” भनेर सम्बोधन गरेका प्रचण्डले त्यस युद्धमा जनताका लागि मर्न युद्धको अग्रभागमा रहन प्रतिष्पर्धा हुने गरेको स्मरण गरे । तर अहिले आएर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु साँसद, मन्त्री र प्रधानमन्त्री हुनै पर्ने अडान लिएर प्रतिष्पर्धा गर्दै आउने गरेको तीतो यथार्थ पोखेका थिए ।
जनताको पक्षमा जनताको लागि समर्पित हुनु नै सच्चा कम्युनिष्टको गुण भएको तथ्यलाई अघि सार्दै प्रचण्डले आफूहरु सत्तामा पुगेपश्चात् कम्युनिष्टको त्यस महान गुणबाट स्खलित भएर जनतादेखि टाढिदै गएको अनुभूति सुनाए ।
उनले केही वर्ष यता आफूहरुमा कम्युनिष्ट सिद्धान्त, विचार, आस्था, दर्शन, मूल्य र मान्यताबाट विचलित भएर व्यक्तिगत स्वार्थ, उपभोक्तावादी चिन्तन हाबी हुँदै गएको तीतो यथार्थ पोखेका थिए । अगाडि उपस्थित नेता कार्यकर्ता र जनताको मनोभावना बुझेर आवश्यकता अनुसार रुन, कराउन र हाँस्न हसाउन खप्पिस नेता प्रचण्डले यसो भनिरहँदा गला अवरुद्ध भएको जस्तो भान हुन्थ्यो ।
बेला बेलामा आफूले गल्ती गरेको अनुभूति हुने गरेको बताउँदै विश्व कम्युनिष्ट आन्दोलनको उदाहरण दिएर उनले आफूलाई नेपाली जनताले पिटी पिटी मार्ने पो हुन् कि भन्ने संसय प्रकट गरेका थिए । उनले अघि भने– “विश्व कम्युनिष्ट आन्दोलनमा विश्व नै हल्लाउने गरी ठूल्ठूला आन्दोलन क्रान्ति भएका छन् । तर सत्तामा पुगेपछि आदर्शहीन, स्खलित र भ्रष्ट भएकाकारण ती नेतालाई जनताले पिटी पिटी मारेका छन् ।” तर आफूहरुले त्यस्तो अवस्था आउन नदिने उनले दाबी गरे ।
त्यति मात्र हैन प्रचण्डले एकपटक फेरि देश र जनताको कसम खाँदै आग्रह पूर्वाग्रहबाट माथि उठेर विचार, सिद्धान्त र दर्शनद्वारा निर्देशित भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे र सबै कार्यकर्ताहरुलाई देश र जनताको सम्वृद्धका लागि प्रतिवद्ध हुन आग्रह पनि गरे ।