काठमाण्डौको नख्खु जेलभित्र रहेका कैदीहरूको दुई फरक–फरक समूहबीचएकले अर्को समुहलाई हटाएर आफ्नी समुह स्थापित गर्न संघर्ष हुने गरेको तथ्य भेटिएको छ । करणी र कर्तव्यज्यान मुद्दामा नख्खु जेलमा कैद सजाय भोगिरहेका भक्तबहादुर सुनुवारको शंकास्पद मृत्यु र जेलभित्रको बेथितिबारे अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले झन्डै ३० जनासँग बयान लिंदा यस्तो तथ्य देखिएको हो ।
अन्तिम पटक चौकीदारसहितको समूहलाई हटाएर आफ्नो समूह स्थापित गर्ने भएको संघर्ष का क्रममा कैद सजायं भोगिरहेका सुनुवारको शंकास्पद मृत्यु भएको अड्कल छानबिन समितिले गरेको छ l त्यति मात्र हैन, जेलभित्र सञ्चालनमा रहेका पसल, रेस्टुराँ, वासिङ सेन्टर, मासु पसलबाट हुने आम्दानी र अन्य अवैध चलखेलबाट प्राप्त हुने आम्दानीका निम्ति केही कैदीबीच अस्वाभाविक संघर्ष चलेको समितिका एक सदस्यले बताए ।
शंकास्पद मृत्यु भएको भनिएका भक्त सुनुवारलाई करिब ३ महिनाअघि अर्का कैदी अभिषेकको पहलमा डिल्लीबजार कारागारबाट नख्खु सरुवा गरिएको थियो । मृतकको साथबाट भेटिएको पत्रमा उनले आफूमाथि कुटपिट हुने गरेको, जेलभित्र अनेक समस्या रहेको भन्दै कैयन कैदीमाथि पोल लगाएका छन् । मृतकको साथबाट फेला परेको पत्रमा चौकीदार बुद्ध गुरुङले कैद मिनाहाका लागि रकम मागेको र आफूमाथि कुटपिट भएको उल्लेख छ । तर अनुसन्धानका निम्ति बनेका दुवै समितिले अभिषेकको निकट मानिएका भक्तमाथि कसले, कुन बेला, कसरी कुट्यो भन्ने प्रश्नको अकाट्य उत्तर भेटिसकेका छैनन् । समितिले उक्त पत्रमा लेखिएको तथ्यको सत्यता जाँच गरिरहेको छ ।
कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला, महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी सोमेन्द्रसिंह राठौर, गृहका शाखा अधिकृत घनश्याम घिमिरे र कृष्णप्रसाद सापकोटा छन् । शंकास्पद मृत्यु र जेलभित्रको बेथिति सार्वजनिक भएलगत्तै गृहले छानबिन समिति बनाएको हो ।
मृतक भक्त २० गते बिहान व्यायामशाला गएर आएको, त्यसलगत्तै उनको रक्तचाप एक्कासि न्यून भएपछि वीर अस्पताल लगिएको जानकारी समितिले पाएको छ । स्वस्थ रहेका भक्तको माथिल्लो रक्तचाप एक्कासि कसरी ५०/४० मा झर्यो भन्ने खुलेको छैन । समितिले भक्तलाई अस्पताल पुर्याउने र कुरुवा बस्ने प्रहरीसँग पनि बयान लिएको छ । समितिका एक सदस्यले भक्तको मृत्यु शंकास्पद नै देखिएको र मृत्युसँग धेरै तथ्य जेलिएको बताए ।
मृतकका परिवारले भक्तको मृत्यु कारागारभित्र कुटपिटका कारण भएको दाबी गर्दै घटनाको छानबिनका लागि मृतकको साथबाट फेला परेको भनिएको तीन पृष्ठको हस्तलिखित पत्र गृहमन्त्री रामबहादुर थापालाई बुझाएका थिए । त्यसलगत्तै थापाले समिति गठन गर्न निर्देशन दिएका थिए ।