माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग बाँदरमुढे घटनाको नाममा उठाइएको राहत रकम सार्वजनिक गर्न पिडितहरुले माग गरेका छन । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी पिडितहरुले यस्तो माग गरेका हुन् ।
सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गर्न प्रचण्डसंग माग गरेका थिए । उनीहरुले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने लगायतका माग राखेका थिए ।
पिडितहरुको माग सुनेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताए । उनले अहिले बलियो सरकार भएको भन्दै उनले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताए । बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उनले बताए ।
यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उनले प्रष्ट पारे । घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताए ।

विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।