हरेक बर्ष बडादसैंको अष्टमीमा र चैते दसैंका दिन निशान भगवती सलामी अर्पणका साथै कोत अर्थात् हतियारको पूजा गर्ने प्रचलन अन्तर्गत सशस्त्र प्रहरी बलले चैते दसैंका क्रममा महानवमीको अवसरमा बगलामुखी विशेष कार्यदल गणमा आइतबार गरेको मौलोपूजाका लागी बलि दिएको बोको एकैपटकमा नछिनी भागेपछि सशस्त्र प्रहरीभित्र खैलाबैला मच्चियो l
संगठनका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बोका र राँगा बलि दिएका थिए । तर, बोका र राँगा दुवै एकै पटकको मारमा छिनेनन् । सामान्यतः बलि दिएका जीवजन्तु एकै मारमा छिन्नुपर्ने भनिँदै आएको छ । एकपटकमा नछिने अनिष्ट हुनेसमेत भनिन्छ । तर, महानिरीक्षक श्रेष्ठले संगठनका तर्फबाट पञ्चबलिका नाममा चढाएको राँगा एक मारमा नछिनेपछि भागेको थियो । राँगा भागेपछि मार हान्न खटिएका हतियारधारी सुरक्षाकर्मीले लखेट्दै यत्रतत्र प्रहार गरेका थिए । धन्य † राँगालाई कार्यदल गणको मूल गेटबाट बाहिर भाग्न नपाउँदै नियन्त्रणमा लिइएको थियो । त्यसपछि महानिरीक्षक श्रेष्ठले अन्तिममा गरिने क्षमापूजाअन्तर्गत चढाएको बोकामा पनि यही नियति दोहोरिएको थियो । क्षमापूजाको नाममा अन्तिममा चढाइएको बोकालाई मार हान्न पनि दुई तीनपटक लागेको थियो ।
मौलोपूजाअन्तर्गत सुरुमा गणका तर्फबाट बलि दिइएको थियो । त्यसपछि महानिरीक्षक श्रेष्ठको नामबाट बोका बलि दिइएको थियो । महानिरीक्षक श्रेष्ठका नाममा पहिलोपटक चढाइएको बोकामा भने यो स्थिति आएको थिएन । त्यसो त सशस्त्र प्रहरीले साइत निकालेरै बिहान ६ बजेर ११ मिनेटमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विशेष कार्यक्रमबीच पूजाअर्चना गरेका थिए l
महानिरीक्षक श्रेष्ठको नाममा बोकाको बलि दिइएपछि एआईजीहरुको नाममा बोकाको बलि दिइएको थियो । अन्य एआईजी, डीआईजी र एसएसपीका नाममा बलि दिइएका बोका एकै मारमा छिने पनि एआईजी केसीको नामको बोका भने एकै पटकमा छिनेन ।
संगठनको १७ वर्षे इतिहासमा कहिल्यै यस्तो दुःखद् घटना नभएको बताइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले आगामी २९ चैतबाट नयाँ नेतृत्व पाउँदै छ, बीचमा ऐनमा कुनै परिवर्तन नआएको खण्डमा । सशस्त्रका दुई नम्बरका एआईजी केसी पनि महानिरीक्षक बन्न शक्तिकेन्द्र धाइरहेका छन् । ‘केसीका लागि यो कतै अशुभ संकेत त होइन ? सशस्त्र मुख्यालयमा आइतबार दिनभर चलेको हल्ला यही हो,’ सशस्त्रका एक अधिकारीले भने ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्काेपटक चैते दसैंका दिन । यस दिन निशान भगवती सलामी अर्पणका साथै कोत अर्थात् हतियारको पूजा मात्रै गरिँदैन, संकल्प गर्दै कुभिन्डो, राँगा र बोकाको बलि पूजासमेत गरिन्छ । साथै संगठन प्रमुखका तर्फबाट निशानमा पन्जाछापसमेत लगाइन्छ । यस दिन बलिपूजाअन्तर्गत संगठन प्रमुखका तर्फबाट पञ्चबलिका नाममा बोका र राँगा बलि दिने प्रचलन छ । साथै इच्छुक अधिकृतहरुका नाममा पनि बोकाको बलि दिने प्रचलन छ ।
यो मौलो पूजा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मुख्यालयनजिकै रहेको बगलामुखी विशेष कार्यदल गणमा गर्दै आएको छ । नेपाल प्रहरीले भने नक्सालस्थित प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ मा गर्दै आएको छ ।