नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य एबम् गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ ले नेपालमा छात्राहरुलाई दलाल राज्यसत्ताका कारण अप्ठ्यारोमा पारिएको आरोप लगाउनुभएको छ ।
अखिल ( क्रान्तिकारी ) जिल्ला समिति छात्रा विभागले आयोजना गरेको दोस्रो छात्रा भेला कार्यक्रममा मन्तब्य दिदै उहांले यस्तो आरोप लगाउनुभएको हो । छात्रा भेलाको आबश्यकता र दायित्व साथै उनीहरुको समस्या सम्बन्धि प्रष्टीकरण दिंदै छात्राहरु उत्पिडित हुनुको कारण नेपालमा बैज्ञानिक समाजवादी शिक्षा नहुनु साथै दलाल राज्यसत्ताका कारण उनीहरुलाई उत्पीडित र शोषित बनाइनु रहेको उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले महिला माथिको हिँसा निजि सम्पत्तिको उत्पत्ति भएदेखि नै सुरु भएको औल्याउंदै समाजमा महिलामाथि भएको विभेद हटाउन, महिलाहरुमा रहेको समस्या हल गर्न महिलाहरु नै संगठित हुनुपर्नेमा जोड दिनुभयो ।
पोखराको पृथ्वी नारायण क्याम्पस ‘बगर’ स्थित निरुता बि.कको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ साथै बिशेष अतिथि गण्डक ब्युरो सदस्य गोकुल पराजुली, अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) जिल्ला संयोजक प्राप्ति , अखिल ( क्रान्तिकारी ) केन्द्रीय सदस्य मिलन राई, अखिल ( क्रान्तिकारी ) केन्द्रीय सदस्य एबम् कास्की जिल्ला अध्यक्ष काजि गुरुङ, अखिल ( क्रान्तिकारी ) तनहुँ उपाध्यक्ष ममता लगायत रहनुभएको थियो भने कार्यक्रम मनिसा मगरले संचालन गर्नुभएको थियो ।
यस्तै उक्त भेलाले दुई सदस्य थप गर्नेगरी प्रमुखमा निरुता बि.क र उप- प्रमुखमा मनिषा मगर र कमला परियार गरी १७ सदस्यीय छात्रा बिभाग गठन गरेको छ ।