मोवाईल चोरको दोष लगाएपछि पोखरामा संगै सुतेका आफ्नै दुई जना साथीको हत्या भएको पुष्टि भएको छ। पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटस्थित निर्माणाधीन माउन्टेन्ट रिसोर्ट एण्ड स्पा भवनमा गत शुक्रबार दुई जनाको मृत्यु हुने गरि भएको घटना ‘सागर’ नामका पूर्णबहादुर लिम्बुले घटाएको रहस्य खुलेको हो ।
धनकुटा जिल्लाको छतरजोरपाटी गाउंपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदूर सागरले घनले हान्दा दुईजनाको मृत्यु र एकजना सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए।
चारजना खाना खाएर संगै सुतेकोमा चोरको आरोप लगाएकोले आवेसमा आई घनले हान्दा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका वर्ष १९ को निमा शेर्पा र वर्ष ३७ को आङलाक्पा शेर्पाको घटनास्थलमा मृत्यु भएको थियो। अर्का साथी वर्ष २७ को आङदावा शेर्पा सख्त घाईते भएकोले उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आङ्दावाको अझै होस नखुलेको प्रहरी उपरीक्षक अशोक सिंहले बताए।
आफ्ना साथीहरुको हत्या गरिसकेपछि अभियुक्त रातिनै पूर्व जाने वस चढी आफनो घर पुगेको र निजलाई पक्राउ गर्न प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी सहित चार जनाको टोली त्यसतर्फ गएको थियो। धनकुटास्थित प्रहरीको अनुसन्धान टोलीको सहयोगले सागर पक्राउ परेको प्रहरी सहायक निरीक्षक सुवेदीले बताए।
टोलीले प्रदेश नं. १ को प्रहरी र जिल्ला प्रहरी कार्यालय धनकुटासंगको समन्वयमा निजलाई पक्राउ गरी विहिबार नै पोखरा ल्याएर जिल्ला अदालतवाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक सिंहले वताए। घटना हुनु भन्दा पाँच दिन अगाडि अभियुक्त लिम्वुले मृतक आङलाक्पा शेर्पा र घाइते आङदावाको मोवाईल चोरेको र अरु साथीहरुले थाहा पाएपछि चोरेको मोवाईल फिर्ता गर्दापनि उनीहरुले चोरको आरोप लगाएकोले आफूहरु सुत्ने कोठामा रहेको घनले हिर्काएर साथीहरुको हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।
मोबाइल चोरेको निहुँमा मृतकहरुले आफूसंग झगडा गर्दै आएकाले पहिलेदेखि नै उनीहरुको हत्या गर्ने योजनामा रहेको सागरले बताए।