मोरङ — कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक तत्काल बोलाएर राष्ट्रियसभा गठनको विषयका साथै चुनावी समिक्षा गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै कोइरालाले राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिद्वारा पारित भएपछि मात्रै देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने बताए। उक्त अध्यादेश पारित नहुँदै राजिनामा दिए अब बन्ने नयाँ सरकारले एकल संक्रमणीय प्रणाली संशोधन गरेर समानुपातिक समावेशी धरापमा पर्ने उनको भनाई थियो।
‘सभापति देउवाले हप्ता/दश दिनभित्र पार्टीको बैठक नबोलाए हस्ताक्षर अभियान चलाएर बैठक बोलाउन लगाउँछौं,’ उनले भने, ‘बैठकमा चुनावी समिक्षा गरेर पार्टीभित्रका विरोधी तत्वलाई पहचिान गरी राजनीतिक र सामाजिक बहिस्कार गर्नुपर्छ। निर्वाचनपछि कांग्रेस जुन गतीमा जाँदैछ त्यो राष्ट्र हितको लागि पनि राम्रो होइन।’
कोइरालाले पार्टी बैठकपछि महासमिति भेला आयोजना गरेर केन्द्रिय महाधिवेशन बोलाएर पार्टीको प्रादेशिक संरचना बनाउनुका साथै नगर र वडा समितिलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए। ‘पार्टीको केन्द्रिय कार्य समितिको पदावधी समाप्त हुनभन्दा एक/डेढ वर्ष अगाडि नै विधानसम्मत प्रक्रियाबाट नेतृत्व परिवर्तन हुनु आवश्यक छ,’ उनले भने, ‘अबको ५ वर्ष कांग्रेस प्रतिपक्षमा बसेर टोलस्तरसम्म संगठन बलियो बनाउनु पर्छ।’