आगामी मङसीर २१ गते हुने प्रतिनिधि सभा एवं प्रान्तीय सभाको चुनावमा बिजय हासिल गर्ने उद्देश्यका साथ वाम गठबन्धन बनाएर तालमेलका साथ चुनावी मैदानमा उत्रिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले पर्यटकीय नगरी पोखरा रहेको कास्की जिल्लालाई कृषि, पर्यटन र खेलकुदको हव बनाउने घोषणा गरे । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा वामगठबन्धनका उम्मेदवारहरुले पत्रकारहरुमाझ आफ्नो परिचय दिंदै चुनाव जितेपछि आफूले गर्ने योजनाहरु पत्रकारहरुलाई सुनाए ।
कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेद्वार खगराज अधिकारीले कास्कीलाई जलविद्युत, अर्गानिक कृषि, पर्यटन र खेलकुदको हब बनाउने घोषणा गरे । उनले होमस्टेजस्तो साना कार्यक्रममा नअल्झिने बताउँदै कास्की क्षेत्र नम्बर १ मा २ सय मेगावाट बिजुली निकाल्न सक्ने फेवाताल बनाउने, अन्तरराष्ट्रिय स्तरको विमानस्थ लबनेपछि हाल चालू अवस्थामा रहेको विमानस्थलमा अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नेलगायतका आफ्ना कार्ययोजनाहरु प्रस्तुत गरे ।
कास्की क्षेत्र नम्बर २ का रविन्द्र अधिकारीले बहुमतको स्थायी सरकार निर्माण गर्ने र सो सरकारको माध्यमबाट देशमा आर्थिक विकास गर्दै समृद्धि निर्माण गर्ने, शान्ति, सामाजिक न्याय, समानताका लागि बाम गठबन्धन बनाएको बताए । उनले यो गठबन्धनमार्फत आर्थिक क्रान्ति गर्दै समाजवादसम्म पुग्ने आफ्नो योजना सुनाए ।
अधिकारीले समाजवाद बिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको समाजवाद हुनै नसक्नै जिकिर गर्दै कांग्रेसले समाजवाद बिनाको लोकतन्त्र भनिरहेकाले त्यो हुन नसक्ने ठोकुवा गरे ।
वामगठबन्धनमा माओवादी केन्द्रको तर्फबाट प्रदेशस्तरको उम्मेदवार बनेका नेताहरुले कृषिको आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउने, गाउँमै रोजगारी सिर्जना गरी त्यहाँ उत्पादित सामानको बजारीकरण गर्नेलगायतका योजनाहरु अगाडि सारेका थिए । कास्की निर्वाचन क्षेत्र नं.२ को प्रदेश नम्बर २ का उम्मेद्वार एवम् माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ ‘करण’ले समृद्ध समाज, शान्ति र संविधान कार्यान्वयन र राजनीतिक संस्कार सिकाउने उद्धेश्यसहित कमाउनका लागि नभई विकासका लागि राजनीति गर्ने आफ्नो लक्ष्य रहेको प्रष्ट्याए । कास्की निर्वाचन क्षेत्र नं. ३ अन्तरगतको प्रदेश नम्बर २ का उम्मेद्वार राजीव पहारीले फेवाताललाई पहिलेकै आकारमा पु¥याउने, आफ्नो क्षेत्रमा परेका छोरेपाटनदेखि अन्नपूर्ण बेसक्याम्पसम्म रिङ्गरोड बनाउने, पोखरामा स्वास्थ्य तालिम केन्द्र बनाउने, जिर्ण सडकको स्तरोन्नती गर्नेलगायतका एजेण्डा प्रस्तुत गरे ।
प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठले स्वागत र प्रेस सेन्टर कास्कीका सचिव कृष्ण दवाडीले सञ्चालन गरेका थिए ।