नुवाकोट । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री कुहिएको छ । भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएका छन् भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ ।
खाद्यान्न तथा बन्दोबस्तीको सामग्री प्रयोगविहीन अवस्थामा पुगेको जानकारी पाए पनि नुवाकोट प्रशासन तथा जिल्ला दैवी प्रकोप उद्धार समितिले राख्ने स्थानको अभाव देखाउँदै बेवास्ता गरेको छ । भूकम्पपछि जिल्लाका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्य र बन्दोबस्तीका सामग्री विसं २०७२ को जेठ पहिलो साता थन्काएदेखि अहिलेसम्म अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको हो ।
भण्डारणमा रहेका सामग्रीमध्ये खाद्यान्नको म्याद सकिएको र गैरखाद्य छनोट गर्ने तयारीमा लागेको प्रजिअ जगदीशराज बरालले बताउनुभयो । भूकम्पपछि राहत वितरण गर्न सामाजिक संस्थाले सबै स्थानको जिम्मा लिएपछि सरकारी राहत थन्काइएको थियो । भण्डारण गरिएको राहतको विवरण नभएकाले कति मूल्य बराबरको यकिन नभए पनि करिब रु एक करोड भएको हुनसक्ने अनुमान गरिएको छ । रासस