१४ भदौ, काठमाडौं । बेपत्ता परिवारका सदस्यहरुले सशस्त्र द्वन्द्वकालमा आफ्ना आफन्तको बेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरेका छन् । अन्तराष्ट्रिय वेपत्ता दिवसका अबसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज काठमाडौमा गरेको कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले पीडकलाई कानूनी दायरामा ल्याउन कठिन भएको बताए । उनले ऐन भए पनि पीडितको पक्षमा उल्लेख नगरिएको हुनाले चाहेर पनि काम गर्न नसकिएको धारणा राखे ।
राष्ट्रिय मानवअकिार अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार र राजनीतिक दलका कारण बेपत्ता नागरिक खोजी हुन नसकेको बताए ।
बेपत्ता परिवारहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानवअधिकार आयोग गरी तीन आयोगलाई यथाशीघ्र खोजको कार्यलाई तिव्रता दिन आग्रह गरेका थिए ।
नेपालमा अहिले आयोगमा तीन हजार ९३ बेपत्ता भएका उजुरी परेका छन् । बेपत्ता आयोगले अहिलेसम्म ९३ उजुरीमाथि मात्र कारबाही गरेको छ । यस्तै २२८ उजुरी आयोगको क्षेत्राअधिकारभन्दा बाहिरको रहेकाले तामेलीमा राखिएको छ ।