कास्की कारागारमा रहेका ५० कैदीवन्दी भाइरल ज्वरोका कारण विरामी परेका छन् । पछिल्लो दिनमा फैलिएको मौषमी रुघाखोकीका कारण उनीहरु विरामी भएको कारागार प्रमुख हरिप्रसाद गौतमले जानकारी दिए । विरामी मध्ये कैदी मोहन अधिकारीलाई टाइफाइड भएको छ । उनलाई पनि अन्य कैदी बन्दीलाई जस्तै भाइरज ज्वरो आएको र समयमा उपचार नहुँदा टाइफाइड भएको बताइएको छ ।
उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको कारागार प्रमुख गौतमले बताए ।
अन्य सबै विरामी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार पछि कारागार फर्किएका छन् । विगत ३/४ दिन अघिदेखि कैदीबन्दी विरामी हुन थालेको र दैनिक १२/१५ जनाको दरले विरामी हुँदै गएपनि मंगलबारदेखि विरामीको संख्यामा कमी आउन थालेको उनले गौतमले बताए । दैनिक रुपमा अस्पताल जाँदै उपचार गर्दै फर्किएको उनले बताए ।
करिब एक महिनादेखि पोखरामा धमिलो लेदो पानी आएको र सोही पानी सेवनका कारण विरामीको संख्या बढ्दै गएको हुनसक्ने आशंका गरिएको छ । कास्की कारागारमा कुल ७०४ जना कैदीवन्दी छन् ।