३ भदौ ।मुलुकका विभिन्न क्षेत्रमा आएको बाढीका कारण विद्यालयमा क्षति भएपछि करिब ८० हजार विद्यार्थी पढाईबाट वञ्चित भएका छन् ।
कतिपय क्षेत्रमा विद्यालय भवन नै नष्ट भएका छन् भने कतिपय विद्यालय भवनभित्र बाढीसँगै छिरेको हिलो पन्छाउन नसकिएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि प्रसाद लम्सालले जानकारी दिनुभयो ।
मध्य र पश्चिमका तराईका जिल्लामा बाढीका कारण बढी विद्यार्थी पढाईबाट वञ्चित भएको उहाँले बताउनुभयो । प्रारम्भिक तथ्यांक अनुसार करिव ५ सय वटा विद्यालय भवनमा क्षति पुगेको छ ।
सर्लाहीमा ४० वटा विद्यालयमा क्षति पुगेको छ भने ५ वटा विद्यालयका भवन पुरै नष्ट भएका छन् । सप्तरीमा ३८ वटा विद्यालयको भवनमा क्षति पुगेको बताएको छ । बाँकेमा ८१ विद्यालयका भवनमा क्षति पुगेको छ ।
धेरैजसो विद्यालयमा बाढीपीडितलाई राखिएकाले विद्यालय सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।