अर्काको थुना पुर्जी देखाएर जेलबाट गायब

अर्काको थुना पुर्जी देखाएर जेलबाट गायब


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ भाद्र २०७४
  • 6.9K
    Shares

केन्द्रीय कारागार सुन्धाराबाट एक कैदी अर्काको थुना पुर्जी देखाएर भागेको खुलासा भएको छ । म्याग्दीका २८ वर्षीय मनबहादुर पुन अर्कोको थुना पुर्जी देखाएर साउन १८ गते केन्द्रीय कारागारबाट उम्कन सफल भएका हुन् । तर, महानगरीय अपराध महाशाखाको टोलीले पुनलाई सोमबार राति पोखराबाट पक्राउ गरेको छ । चेलीबेटी बेचबिखन मुद्दामा १२ वर्ष ६ महिना जेल सजाय पाएका पुनले जेलमा पाँच वर्ष बिताइसकेका थिए । तर, कारागारमा कार्यरत कर्मचारीले पुनले अर्काको थुनुवा पुर्जी देखाएर जेलबाट निस्किएको पत्तोसमेत पाएन ।

केन्द्रीय कारागारमै रहेका लागुऔषध कारोबारका एक कैदीको थुना पुर्जी लिएर पुनः जेलबाट निस्कन सफल भएको स्रोतले जनाएको छ । कैदी फरार भएको सूचना पाएलगत्तै कारागार विभाग र केन्द्रीय कारागारले उनको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको थियो । यी तीनवटै निकायले पुनको खोजीलाई निकै गोप्य राखेका थिए ।

स्रोतका अनुसार केन्द्रीय कारागारमै रहेका दर्पण थापा मगरको थुना पुर्जी लिएर पुन जेलबाट उम्कन सफल भएका हुन् । पुन र थापा मगर दुवै भीमफेदी कारागारबाट केन्द्रीय कारागारमा सरुवा गरी आएका हुन् । स्रोतका अनुसार भीमफेदी कारागारबाट निस्कने बेलामा पुनले थापा मगरलाई प्रलोभनमा पारी थुना पुर्जी साटेका थिए । स्रोतका अनुसार पुनले यसबापत थापा मगरलाई २५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।

प्रहरीले पोखराबाट पुनलाई हवाईमार्ग हुँदै काठमाडौं ल्याएको थियो । पुन कसरी अर्काको पुर्जी देखाएर उम्किए भन्ने विषयलाई कारागार विभाग, केन्द्रीय कारागार र महानगरीय अपराध महाशाखाले गोप्य राखेको छ । एक उच्च प्रहरी अधिकारी अर्काको थुना पुर्जी देखाएर भाग्न ‘सेटिङ’ हुनुपर्ने बताउँछन् । ‘कैदमा बसेका कैदीको तस्बिर र औंठा छापसमेत कारागारमा हुन्छ । कैदलाई छुटुवा पुर्जी दिँदा यी सबै कुरालाइई याद गरिन्छ । अर्को कुरा त्यति लामो समयदेखि कैदमा रहेको कैदीको नाम र उसको सजायबारे कारागार व्यवस्थापन अनविज्ञ हुनु आश्चर्यजनक कुरा हो’, ती प्रहरी अधिकृत भन्छन् ।

कारागार विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले यस विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । ‘मसम्म यसबारे केही कुरा आइपुगेको छैन । यसबारे केन्द्रीय कारागारका जेलरलाई नै सोध्दा राम्रो होला’, महानिर्देशक घिमिरेले भने । यसपछि केन्द्रीय कारागारका जेलर बेद खरेलसँग बुझ्दा उनले आफ्नो जेलबाट कुनै कैदी नभागेको दाबी गरे । जेलबाट भाग्ने कैदीको हकमा कैद सजाय थप हुने कानुनी व्यवस्था छ । जेलबाट भागेका कैदीले कैदमा बस्न बाँकी सजायको डेढी सजाय भोग्नुपर्छ ।

जेलबाट कैदी भागेको यो पहिलो घटना भने होइन । तर, नौलो घटना भने हो । यसअघि धनकुटा र पोखरा कारागारबाट भागेका कैदीलाई पछि प्रहरीले समातेको थियो । कालिकोट, कैलालीलगायत कारागारबाट भागेका कैदी भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । धनकुटामा प्रहरीसँगै बजार गएका कैदी त्यतैबाट फरार भएका थिए । पोखरामा भने अस्पतालमा उपचार गर्न पुगेका कैदी अस्पतालको सिसा तोडेर भागेका थिए ।

यसअघि भूकम्पका कारण जेल भत्कँदा देशका विभिन्न स्थानबाट कैदी भागेका थिए । उनीहरू पक्राउ पर्ने क्रम अहिले पनि जारी छ । काठमाडौं उपत्यकाको हकमा यसअघि पनि जेलबाट कैदी भाग्ने घटना भएका थिए । जेलबाट भाग्ने कैदीको हकमा कैद सजाय थप हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया
सम्बन्धित समाचार