म्यानपावर अनुगमनमा क्लिन चिटका लागि मागियो पाँच लाख

म्यानपावर अनुगमनमा क्लिन चिटका लागि मागियो पाँच लाख


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ माघ २०७२
  • 14.5K
    Shares

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनी अनुगमन सुरु गरेको छ । सरकारले २९ जेठमा निर्णय गरेर २१ असारदेखि फ्रि भिसा, फ्रि टिकटको निर्णय लागु गरे यता म्यानपावर व्यवसायीले रोजगारीका लागि विदेश जाने कामदारसँग बढी पैसा लिएको गुनासो बढ्न थालेपछि मन्त्रालय र विभागले अनुगमन बढाएको जनाएको छ । हाल मन्त्रालय अन्तर्गत दुई र विभाग अन्तर्गत दुई गरी चार समूहमा अनुगमन भइरहेको छ ।

मन्त्रालयले गरेको अनुगमनको नेतृत्व विभाग अनुगमन शाखाकी निर्देशक रमा भट्टराईले गरेकी छन् भने विभागले गरेको अनुगमनको नेतृत्व विभागका निर्देशन तथा प्रवक्ता जनकराज रेग्मीले गरेका छन् । रेग्मीले हालसम्म ३४ भन्दा बढी म्यानपावरमा अनुगमन गरिएको बताए । ‘दैनिक दुई तीन म्यानपावरको अनुगमन गरेका छौँ,’ उनले भने ।

विभागले गर्ने गरेको अनुगमनमा कुनै पनि समस्या नभएका म्यानपावर कम्पनीमा पनि कुनै न कुनै समस्या देखाएर अनुगमन टोलीले पैसा उठाउने गरेको गुनासो बढ्न थालेको छ । एक म्यानपावर व्यवसायीले भने, ‘विभागका अधिकारी अनुगमनमा आउँछन्, आएपछि एक जना लेखा कक्षमा प्रवेश गरेर सिपियु निकाल्न थाल्छन्, एक जना कामदार भएको खण्डमा उनीहरुसँग म्यानपावरले कति लियो भनेर सोध्न थाल्छन र अरुचाहिँ सिधै सञ्चालकको कार्यकक्षमा प्रवेश गर्ने गर्दछन् ।’

ती पीडित व्यवसायीले नाम नखुलाउने शर्तमा भने, ‘मेरो म्यानपावर कम्पनीको लेखा प्रणाली ठीक थियो, नागरिक बडापत्र सबैले देख्ने गरी राखेको थिएँ, सबै कामदारसँग सरकारले भनेको जति मात्र शुल्क लिएर रसिद दिएको छु, कर तिरेको छु ।’ उनले भने, ‘अनुगमनमा आएका कर्मचारील सिपियु लिएर गए, मेरो संस्थामा के खोट देख्नु भयो भनेर सोधेको, कामदारसँग बढी शुल्क लिएको रहेछ भनेर जानुभयो, विभागका अधिकारीले मेरै अगाडि सोधेको उनीहरुले रसिद बराबरको पैसा तिरेको कुरा बताएका थिए ।’ कुनै पनि कमजोरी नगर्दा पनि कारबाहीको प्रक्रिया अगाडि बढाएकामा उनको गुनासो छ । यस्तै, अर्को एक म्यानपावरमा पनि सबै ठीक हुँदाहुँदै लेखा अधिकृत बिदामा बसेको दिन अनुगमनमा गएर कारबाहीको प्रक्रिया अगाडि बढाएको व्यवसायीको गुनासो छ ।

म्यानपावरमा अनुगमन, अन्नपूर्ण होटलमा मोलमोलाइ

विभागले गरेको अनुगमनमा चरम आर्थिक संकलन भइरहेको गुनासो आउन थालेको छ । विभागका अधिकारीले पछिलो नाम चलेका ठूला र नाम चलेका तर काम गर्न खासै नसकेका म्यानपावरमा अनुगमन गरेर मनग्य आम्दानी सुरु गरेको छ । विभागमा अधिकारीले अनुगमन गर्ने, सिपियु विभागमा लैजाने र होटल अन्नपूर्णमा पैसाको बार्गेनिङ गर्ने गरेको विश्वस्त स्रोतले जानकारी गराएको छ ।

पीडित व्यवसायीमध्येका एकले भने, ‘कर्मचारीले १२ देखि तीन बजेको बिचमा अनुगमन गर्ने र साँझ साढे पाँच बजे फोन गरेर पाँच लाख रुपैयाँ नगद सहित अन्नपूर्ण होटलमा बोलाउने गरेका छन् । पाँच लाख रुपैयाँ लिएर गयो भने भोलीपल्ट बसेरै विभागले क्लिन चिट सहित सिपीयु पठाईदिन्छ, पाँच लाख नदिएर विभिन्न बाहनामा काम बारबाही रोकिन्छ ।’ हालसम्म विभागका कर्मचारीले तीन म्यानपावसँग पाँच–पाँच लाख रुपैयाँका दरले असुली गरेको बुझीएको छ । बाँकी म्यानपावर कम्पनीसँग पनि नगदमा हिसाब किताब भईरहेको बुझिएको छ ।

म्यानपावर कम्पनी कमिसन दिन बाध्य

सरकारले लागु गरेको फ्रि भिसा र टिकटका कारण म्यानपावर कम्पनीमा कामदारको माग निकै न्युन छ । विभागले अनुगमन गरेर कारबाही गरेको खण्डमा आएको माग पनि रोकिने, टिकटको पैसा खेर जाने, व्यवसायीमाझ छवि गिर्ने कारण व्यवसायी थोरै पैसामा मानेको खण्डमा कर्मचारीको मुखमा बुझो लगाउन बाध्य रहेको एक व्यवसायीले बताए ।

विभागले म्यानपावरको अनुगमन गर्दा तीन तरिकालाई प्राथमिकताका साथ अघि बढाएको छ । जसमा पहिलो विभागले म्यानपावरविरुद्व परेको लिखित उजुरी, दोस्रो मौखिक उजुरी र तेस्रो फोन, इमेल, एसएमएसमा आएका उजुरी तथा गुनासोलाई पहिलो प्राथमिकतामा राखेर अनुगमन गरेको छ ।

पैसाको कुरा गर्दा प्रवक्ताले काटे फोन

विभागका प्रवक्ता रेग्मीलाई अनुगमनमा म्यानपावरमा पैसाको बार्गेनिङ किन  भनी प्रश्न सोध्नासाथ फोन काटे । उनलाई पटकपटक फोनमा सम्पर्क गर्दासमेत उनी सम्पर्कमा आउन चाहेनन् । अनुगमनका विषयमा कुरा गर्दा खुलेर बोलेका रेग्मी पैसाको विषय उठाउनासाथ सम्पर्कमा आउन नचाहनुले अन्नपूर्ण होटलमा बसेर व्यवसायीसँग पाँच–पाँच लाख रुपैयाँ मागेर क्लिन चिट दिने तयारीमा रहेको प्रमाणित नै भएको छ ।  नेप्लिज डट ओआरजीबाट साभार

 

प्रतिक्रिया