काठमान्डूको बल्खु तरकारी बजारमा पुगेको मन्त्रीसहितको सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीहरुले आक्रमण गरेका छन्। व्यापारीहरुले प्रयोग गरेको ढक तराजू दर्ता भए नभएको अध्ययन गर्न गएको टोलीमाथि व्यापारीहरुले इट्टा, लौका तथा मुलाले आक्रमण गरेका हुन्।
आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय तथा पत्रकारसहितको टोली कालिमाटी तरकारी बजारको अनुगमन गरेपछि बल्खु तरकारी बजारमा पुगेको थियो। अकस्मात आएर अनावश्यक रुपमा दुःख दिएको भन्दै व्यापारीहरुले टोलीमाथि आक्रमण गरेका हुन्। तरकारी बजारमा प्रयोग भएका सबैजसो ढक तराजू उचित परिमाणको नभएको गुनासो आएपछि मंगलबार टोली अनुगमनमा निस्किएको थियो।
अनुगमनमा गएको सरकारी टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीले मंगलबार हातपात गरेका छन् । डिजिटल तराजु नवीकरण नगरेको, प्रमाणित नगरेको र कम तौल दिएर उपभोक्ता ठगेको भन्दै कर्मचारीले तराजु जफत गरेपछि हातपात गरेका हुन् । व्यापारीले बन्दा, काँक्रो, मूलालगायतका तरकारीले आक्रमणसमेत गरेका थिए । व्यापारीको घेराबन्दीमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षक रामचन्द्र काफ्ले र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका निरीक्षक कमल ओझा परेका थिए । काफ्लेलाई व्यापारीले हात छोडेका थिए भने ओझालाई ताकेर तरकारीले झटारो हानेका थिए । सँगै गएका दुई प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप बल मगाइएको थियो । यसरी भयो घटना बिहान साढे १० बजे अनुगमन टोली बल्खुस्थित थोक तरकारी बजार पुगेको थियो ।
थोक बजार चार वर्षअघि सञ्चालनमा आएको हो भने करिब एक वर्षदेखि खुद्रा विक्रीका लागि नयाँ स्टल सञ्चालनमा छन् । पुरानो स्टल निरीक्षणका क्रममा चित्तबुझ्दो सफाइ देखेपछि कर्मचारी फर्कने थालेका थिए । फर्कंनै लाग्दा गुणस्तर विभागका निरीक्षक कमल ओझाले डिजिटल तराजुमा गढबढी देखिएको भन्दै अनुगमन टोलीका सबै सदस्यलाई जानकारी गराएपछि व्यापारीसँग सोधिखोजी भएको थियो । तराजुको पछाडि निर्माता कम्पनीको स्टिकर नदेखेपछि तराजु प्रमाणित भए–नभएको र नवीकरण गरे–नगरेको कागजात ल्याउन अनुगमन टोलीले व्यापारीलाई निर्देशन दिएका थिए ।
तराजुको प्रमाणित कागजात नभए जफत गरी लैजाने र नापतौल प्रमाणित गरी पठाइदिने ओझाले बताए । सो क्रममा आपूर्ति विभागका निरीक्षक रामचन्द्र काफ्ले एउटा स्टलमा स्टिकर नभएको तराजु फेला पारे । स्टलबारे जानकारी माग्दा कसैले नबताएपछि तराजु जफत भयो ।
अर्को त्यस्तै तराजु जफत गर्न लाग्दा एक व्यापारीले नलैजान आग्रह गरे । तर, ओझाले प्रमाणित नगरी चलाएको तराजु छाड्न नमिल्ने बताए । व्यपारीले जवाफ फर्काए, ‘तराजु लाने नै भए तरकारीको रिस्क पनि लिइदिनुप¥यो ।’ सोही क्रममा कपाल पालेका एक व्यापारी आएर प्रतिकार गर्न निर्देशन दिए । त्यसपछि एक दर्जन व्यापारीले हल्ला गर्दै बन्दा, मुलालगायतले कर्मचारीलाई झटारो हानेका थिए । कर्मचारी स्लटबाहिर पगेपछि व्यापारीले घेरेर हातपात गरेका थिए । करिब १० मिनेट कर्मचारीलाई घेरेर गाली गर्दै जफत गरिएका तराजु फिर्ता लगेका थिए ।
व्यापारीले माफी मागे प्रहरीले भीड नियन्त्रण गरेपछि तरकारी बजार समितिका सदस्य कुमार बस्नेतको नेतृत्वमा व्यापारी र कर्मचारीको वार्ता भयो । वार्तामा तरकारीले झटारो हान्ने र हातपात गर्ने व्यापारीले माफी मागे । उनीहरूले भने, ‘हामीले आक्रोशमा आएर गरेको गल्तीको माफी पाऊँ । र, तपाईंहरूले दुई–तीन दिनको समय दिएर स्टलमै आएर तराजु परीक्षण गरिदिए हुन्छ ।’ तर, गुणस्तर विभागका निरीक्षक कमल ओझाले भने, ‘अब विभागमा व्यापारी आफैँले तराजु लिएर आउनुस् । हामी परीक्षण गरिदिन्छौँ ।’
४७ तराजु जफत वार्तापछि स्टिकर नलागेका सबै तराजु जफत गरियो । ४७ तराजु जफत गरी बजारको माथिल्लो तलामा रहेको गोदाममा राखिएको छ । गुणस्तर विभागका निरीक्षक कमल ओझाले भने,‘ती तराजुको नापतौल परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउने सहमति भएको छ ।’
तरकारी बजारमा मन्त्रीको दुई घन्टा आपूर्तिमन्त्री गणेशमान पुन मंगलबार बिहान तरकारी तथा फलफूल बजारहरूको अनुगमनमा निस्किए । मंगलबार बिहान ८ः३५ मा कालिमाटी फलफूल तथा तरकारी बजार पुगेका मन्त्री पुनले सुरुमा बाली संरक्षण निर्देशनालयले कालिमाटी भित्रने तरकारीको विषादी परीक्षण ल्याब अवलोकन गरे । ल्याबमा परीक्षण गर्दा तरकारीमा विषादी नदेखिने कर्मचारीले जानकारी दिए । पुनले ल्याबको भौतिक अवस्था सुधार्न निर्देशन दिए ।
ल्याबपछि मन्त्री थोक बजारमा पुगे । भुइँमा असरल्ल तरकारी देखेपछि उनले सरसफाइ गर्न निर्देशन दिए, ‘यसरी तरकारी भुइँमा फाल्नुभएन । सफा गरेर राख्नु-यो ।’
तरकारीको थोक स्टलबाट मन्त्री पुन फलफूलका स्टलतर्फ हिलोमा टेक्दै गएका थिए । त्यसक्रममा उनले कालिमाटी बजार समितिका उपनिर्देशक विदुरप्रसाद आचार्यलाई भने, ‘यहाँ सरसफाइ भएन, तुरुन्त बोलाएर सफाइ गर्नुस् ।’ जवाफमा आचार्यले भने, ‘तीन दिनभित्र सफाइ गर्छौंं ।’ फोहोरको डंगुरमा आँप पकाउने कोठा हिलो छिचोल्दै मन्त्री पुन ०१ नम्बरको स्लटमा पुगे, जहाँ आप पकाइन्छ ।
आँप पकाउने कोठा फोहोर थियो । कागजका टुक्रा कुहिएको देखेपछि मन्त्रीले भने, ‘आँप पकाउने ठाउँमा कागजको टुक्रा कुहिने गरी फोहोर हुँदासमेत किन सफा नगरेको ? यस्तो फोहोर गर्न मिल्छ ?’ मन्त्रीले प्रश्न राखेपछि समितिका उपनिर्देशक आचार्यले फोहोर सफा गर्न व्यापारीलाई निर्देशन दिए, ‘तपाईं (व्यापारी) हरू भित्रको सफा गर्नुस्, बाहिर हामी गर्छौँ ।’
तरकारी बजार निरीक्षणपछि साढे ९ बजे मन्त्री पुनले अनुगमन तीब्र बनाइने बताए । ‘म अनुगमनको पनि अनुगमनका लागि निस्किएको हु“ । हामीले साताव्यापी अनुगमनको सुरुवात आजै (मंगलबार) बाट थाल्यौँ,’ उनले भने, ‘थोक बजारको अवस्थाले रिँगटा लाग्लाजस्तो भयो ।बजार सफा गरी उपभोक्ताको हितमा पहिले राज्यपक्षले र त्यसपछि व्यापारीले ध्यान दिनुप¥यो ।’ उनले कुलेश्वरस्थित फलफूलको थोक बजार पनि अनुगमन गरेका थिए । त्यहाँको सरसफाइ भने चित्तबुझ्दो रहेको उनले जानकारी दिए ।