काठमाडौं उपत्यकामा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं उपत्यकामा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ माघ २०७२
  • 18.6K
    Shares

काठमाडौं उपत्यकामा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोहलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ। रसुवा धैबु २ घर भइ बागबजारमा बुद्ध स्क्रिन प्रिन्ट सञ्चालन गर्ने लालबहादुर तामाङ, गुल्मी हर्दिनेटा ५ घर भइ भक्तपुर बस्ने साजन न्यौपाने र काठमाडौं विशालनगरका जितेन्द्र खड्कालाई पक्राउ गरेको हो।

नक्कली लाइसेन्स बनाएर हिड्ने धादिङ कुमपुर – ४ घर भइ ठमेल बस्ने सूर्य कोइरालालाई पनि पक्राउ गरिएको दरबारमार्गका डिएसपी कृण्णबहादुर पल्ली मगरले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट नक्कली लाइसेन्स, त्यसमा प्रयोग हुने ३ सय ५० थान कार्ड, यातायात कार्यालयको स्ट्याप्प, लाइसेन्समा प्रयोग हुने ७५ थान होलोग्राम पनि बरामद गरेको प्रहरी निरीक्षक मदन कुँबरले बताए। उनीहरुको साथबाट बरामद भएको होलाग्राम सक्कली भएको प्रहरीले जनाएको छ । उनीहरुले नक्कली लाइसेन्समा सक्कली होलाग्राम प्रयोग गर्ने गरेका थिए। यस बारेमा यातायात कार्यालयसँग बुझेर अनुसन्धान अघि बढाइएको डिएसपी मगरले बताए। यातायात कार्यालयकै कर्मचारीको मिलेमतोमा उनीहरुले नक्कली लाइसेन्स बनाउने गरेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फपनि छानबिन अघि बढाएको छ। बढीमा ५ हजार रुपैयाँ लिएर उनीहरुले एउटा लाइसेन्स बनाइदिने गरेका थिए। उपत्यकामा नक्कली लाइसेन्स बनाउने यो सम्भवत ठूलो गिरोह भएको प्रहरीले अनुमान गरेको छ।

कसरी समातियो गिरोह

यही माघ ७ गते राति ठमेलमा सुशान्त तामाङ र साजन तामाङको झगडा भइरहेको थियो। झगडा भएपछि प्रहरीले उनीहरुलाई समातेर वृतमा ल्याएको थियो। उनीहरुको साथमा रहेको मोबाइलमा फोन आयो । त्यो फोन उनीहरुले चोरी गरेका थिए। साथै लुटेको पर्सको रकम बाँडफाँडमा कुरा नमिलेपछि उनीहरुबीच झगडा भइरहेको थियो। पकेटमारले बोकेको मोबाइलमा फोन प्रहरीले रिसिभ गर्यो। फोनमा एक महिलाले आफ्नो श्रीमान सूर्य कोइरालको मोबाइल र पर्स हराएको बताईन्।

Nakkali Liscence

प्रहरीले ती महिलालाई तपाईँको सामान सुरक्षित छ, लिनका लागि भोलिपल्ट दरबारमार्ग बृतमा आउनु भन्यो। भोलिपल्ट मोबाइल र पर्स हराएका दम्पत्ति प्रहरीकहाँ आए। प्रहरीले मोबाइल फिर्ता गर्यो । उनीसँगै आएका उनका श्रीमानले पर्स पनि हराएको भनेर प्रहरीलाई जानकारी गराए।

पर्स बुझाउने क्रममा प्रहरीले सूर्य कोइराला र सूर्य तामाङको नाममा २ वटा लाइसेन्स भेट्यो। प्रहरीले किन २ वटा लाइसेन्स बोकेको भन्दा सूर्यले वैदेशिक प्रयोजनका लागि बनाएको प्रतिक्रिया दिए। त्यसपछि प्रहरीले कहाँबाट लाइसेन्स बनाएको भन्ने बारेमा अनुसन्धान सुरु गर्यो । सूर्यले जितेन्द्र खड्काले बनाइदिएको बताए ।

प्रहरीले जितेन्द्रलाई विशालनगरबाट पक्राउ गर्‍यो। जितेन्द्रले साजन न्यौपानेबाट काम गर्ने गरेको खुलाए । प्रहरीले न्यौपानेलाई पनि समात्यो। न्यौपानेले लालबहादुर तामाङको प्रेसबाट कार्ड छाप्ने गरेको बताए । प्रहरीले तामाङलाई पनि पक्राउ गर्‍यो।

प्रतिक्रिया