काठमाडौं, १७ कार्तिक २०८३।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्। नेपालमा आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन्।
विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालय तथा काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।
भारतीय विदेश मन्त्रालयले गत असोजको अन्तिम साता दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो। उनको आगमनसँगै नेपाल–भारत कूटनीतिक सम्बन्धमा नयाँ चरण सुरु हुने अपेक्षा गरिएको छ।
यसैबीच, भारतीय विदेश सचिव विक्रम मिश्री बुधबारदेखि नेपालको औपचारिक भ्रमणमा आउँदैछन्। विदेश सचिव मिश्रीको भ्रमणको पूर्वसन्ध्यामा राजदूत दलेला काठमाडौं आइपुगेका हुन्। उनको आगमनलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवाद र आगामी सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
को हुन् सुधाकर दलेला ?
सुधाकर दलेला भारतीय विदेश सेवाका वरिष्ठ करियर कूटनीतिज्ञ हुन्। उनी यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा कार्यरत थिए। विदेश मन्त्रालयको सचिवस्तरमा काम गरिसकेका कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गरिएको यो सम्भवतः पहिलो घटना हो।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनको कूटनीतिक यात्रा इजरायलको तेल अभिभबाट सुरु भएको थियो।
उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। त्यसअघि उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
नेपाल र भुटानसम्बन्धी मामिलामा समेत उनको लामो अनुभव छ। सन् २००६ देखि २००७ सम्म भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा निर्देशक तथा सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनमा सहसचिवका रूपमा कार्यरत रहँदा उनले नेपाल–भुटान मामिलालाई नजिकबाट हेरेका थिए।
त्यसैगरी, सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका दलेलासँग व्यापार नीति, आर्थिक सम्बन्ध र आर्थिक कूटनीतिमा समेत विशेष अनुभव छ। उनले भारतीय वाणिज्य विभाग तथा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा पनि काम गरिसकेका छन्।
नेपाल–भारत सम्बन्धमा कस्तो भूमिका रहला ?
नेपालका लागि नयाँ भारतीय राजदूतका रूपमा दलेलाको नियुक्तिलाई भारतले नेपालसँगको कूटनीतिक सम्बन्धलाई दिएको प्राथमिकताका रूपमा समेत विश्लेषण गर्न सकिन्छ।
विशेषगरी, नेपाल–भारत व्यापार, पारवहन, ऊर्जा सहकार्य, पूर्वाधार विकास, सीमा व्यवस्थापन तथा दुई देशबीचका आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा उनको अनुभव उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।
अब दलेलाको कार्यकालमा नेपाल–भारत सम्बन्धले कुन दिशा लिन्छ र दुई देशबीच लामो समयदेखि चर्चामा रहेका द्विपक्षीय मुद्दाहरूले कस्तो गति लिन्छन् भन्ने विषय चासोका साथ हेरिएको छ।