खोटाङमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक घाइते

खोटाङमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ भाद्र २०८३
  • 2.5K
    Shares

hele accident , खोटाङमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

खोटाङ, २१ भदौ २०८३

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालाबेंसीमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ। काठमाडौंबाट खोटाङतर्फ गएको हेलिकप्टर बुधबार दिउँसो करिब ११ः५१ बजे अस्थायी हेलिप्याडमा अवतरण गर्ने क्रममा पल्टिएको हो।

दुर्घटनामा हेलिकप्टरमा सवारमध्ये एक यात्रु घाइते भएका छन्। उपलब्ध विवरणअनुसार काजीबहादुर राईको खुट्टामा चोट लागेको थियो। उनलाई तत्काल उद्धार गरी एयर डाइनेस्टीकै अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो। पाइलटसहित अन्य यात्रु भने सुरक्षित रहेको जनाइएको छ।

हेलिकप्टर काठमाडौंबाट बिहान करिब ११ बजे उडेको थियो। अवतरणका क्रममा नियन्त्रण गुमेपछि हेलिकप्टर पल्टिएको प्रारम्भिक विवरण छ। दुर्घटनाको कारणबारे भने विस्तृत अनुसन्धान हुन बाँकी छ। प्रारम्भिक रूपमा अवतरणस्थलको धुलो तथा हावाको अवस्थाले प्रभाव पारेको हुनसक्ने अनुमान गरिएको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार हेलिकप्टरमा एक मृतकका आफन्तहरू अन्त्येष्टिका लागि खोटाङतर्फ गएका थिए। मृतकको शव भने छुट्टै सवारीसाधनबाट खोटाङ पठाइएको विवरण पनि सार्वजनिक भएको छ।

दुर्घटनापछि स्थानीयवासी तथा उद्धार टोलीले तत्काल उद्धार कार्य थालेका थिए। घटनामा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। दुर्घटनाग्रस्त हेलिकप्टरमा भने क्षति पुगेको छ।

घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया