पोखरा, ३१ सार २०८३।
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपेली महारथी स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। डलासमा भएको उच्च प्रतिस्पर्धात्मक खेलमा स्पेनले फ्रान्सको लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने सपना समाप्त पार्दै इतिहासमा दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो।
विश्व फुटबलका दुई शीर्ष टोलीबीचको यस प्रतिस्पर्धामा फ्रान्स आठौँ पटक सेमिफाइनल खेल्दै लगातार तेस्रो फाइनल पुग्ने लक्ष्यमा थियो। फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ मा अर्जेन्टिनासँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। स्पेन भने यसअघि सन् २०१० मा मात्र फाइनल पुगेको थियो र त्यही संस्करणमा पहिलो विश्वकप उपाधि जितेको थियो। यस जितसँगै स्पेन दोस्रो विश्वकप उपाधिबाट अब एक कदम मात्र टाढा पुगेको छ। साथै, फ्रान्सविरुद्ध पछिल्ला दुई भेटमा स्पेनले लगातार जित दर्ता गरेको छ। यसअघि उसले युरो २०२४ को सेमिफाइनलमा पनि फ्रान्सलाई २–१ ले हराएको थियो।
खेलको सुरुआतदेखि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। आठौँ मिनेटमा फ्रान्सका मिडफिल्डर आद्रिएन राबियोले पहेँलो कार्ड पाएपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।
स्पेनले २२औँ मिनेटमा पेनाल्टीको अवसर पायो। मिकेल ओयारजाबालले उक्त अवसरलाई सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए। पहिलो हाफको ३१औँ मिनेटमा स्पेनका डिफेन्डर मार्क कुकुरेयाले पहेँलो कार्ड पाए। पहिलो हाफ स्पेनको १–० को अग्रतासहित समाप्त भयो।
दोस्रो हाफको ५८औँ मिनेटमा डिफेन्डर पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि स्पेनले खेलमा नियन्त्रण कायम राख्दै ७४औँ मिनेटमा ओयारजाबालको स्थानमा फेरान टोरेस र ८४औँ मिनेटमा पोरोको स्थानमा मार्कोस लोरेन्टेलाई मैदानमा उतारेर रक्षापंक्ति थप मजबुत बनायो।
खेलको ८६औँ मिनेटमा स्पेनका गोलरक्षक उनाइ सिमोनमाथि खराब फाउल गरेपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले पहेँलो कार्ड बेहोरे।
यसअघि क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो भने स्पेनले बेल्जियमलाई मिकेल मेरिनोको निर्णायक गोलमा १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।
यस विश्वकपमा हालसम्म केवल एक गोल मात्र व्यहोरेको स्पेनले फ्रान्सविरुद्ध पनि उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै क्लिन सिट कायम राख्यो। बल नियन्त्रण, संगठित रक्षापंक्ति र अनुशासित खेलको उत्कृष्ट प्रदर्शनका साथ स्पेन ऐतिहासिक दोस्रो विश्वकप उपाधि नजिक पुगेको छ भने फ्रान्सको यात्रा सेमिफाइनलमै टुंगिएको छ।