मोरक्कोलाई पराजित गर्दै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा

मोरक्कोलाई पराजित गर्दै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा


  • एजेन्सीहरु
  • शुक्रबार, २६ असार २०८३
  • 1.2K
    Shares

पोखरा, २६ असार २०८३।

कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका एमबाप्पेले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको केही मिनेटपछि डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे।

सन् २०१८ को विश्वकप विजेता तथा साविक उपविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनल पुगेको हो। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

चार वर्षअघि कतार विश्वकपको सेमिफाइनलमा पनि फ्रान्सले मोरक्कोलाई पराजित गरेको थियो। यसपटक क्वाटरफाइनलमा पुनः भेट हुँदा मोरक्को बदला लिने लक्ष्यसहित मैदान उत्रिए पनि सफल हुन सकेन।

बोनोको उत्कृष्ट प्रदर्शन

मोरक्कोका गोलकिपर यासिन बोनोले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टीसहित तीन महत्वपूर्ण बचाउ गरे। २८औँ मिनेटमा एमबाप्पेले प्रहार गरेको पेनाल्टी उनले रोकेका थिए। त्यसअघि २५औँ मिनेटमा माजाउरीले एमबाप्पेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

बोनोले उपामेकानोको हेडर र इन्जुरी समयमा लुकास डिग्नेको प्रहार पनि बचाउँदै पहिलो हाफभरि फ्रान्सलाई गोल गर्न दिएनन्।

दोस्रो हाफमा फ्रान्स हाबी

६०औँ मिनेटमा डिजायर डुएको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि एमबाप्पेको पासलाई सदुपयोग गर्दै डेम्बेलेले दोस्रो गोल गरे।

दोस्रो हाफमा फ्रान्सले थप अवसर सिर्जना गरे पनि गोल संख्या बढाउन सकेन।

एमबाप्पे गोल्डेन बुटको दौडमा

एमबाप्पेले यस विश्वकपमा ८ गोल र ३ असिस्ट गरेका छन्। गोल संख्यामा उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरीमा रहे पनि बढी असिस्टका कारण गोल्डेन बुटको दौडमा अघि छन्। मेसीको नाममा ८ गोल र १ असिस्ट छ।

यस्तै, विश्वकप इतिहासमा एमबाप्पेको कुल गोल संख्या २० पुगेको छ, जुन मेसीको भन्दा एक गोल कम हो।

उता, यस हारसँगै मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३४ खेलको अपराजित यात्रा पनि समाप्त भएको छ।

प्रतिक्रिया