सार्वजनिक अपराध मुद्दाको दुरुपयोग गर्दै कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मुद्दा चलाउँदै कास्की प्रहरी

सार्वजनिक अपराध मुद्दाको दुरुपयोग गर्दै कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मुद्दा चलाउँदै कास्की प्रहरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ जेष्ठ २०७४
  • 9.7K
    Shares

पोखरा, १८ जेठ २०७४ नेपाल प्रहरीले केही सार्वजनिक अपराध सम्बन्धि मुद्दा २०२८ लाई कसरी दुरुपयोग गरिरहेको छ भन्ने कुरोको रहस्योद्घाटन बिहीबार पोखरामा भएको छ ।

करीब तीन हप्ता आफ्नै हिरासतमा रहेका सात जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई धरौटीमा छुटेलगत्तै प्रहरी नियन्त्रणमा लिएर फेरि सार्वजनिक मुद्दा चलाउने तयारी गरेपछि प्रहरीले यस कानूनको दुरुपयोग गरेको रहस्योद्घाटन भएको हो ।

सरकारद्वारा घोषित स्थानीय तहको चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका छ जना विद्यार्थी नेताहरुलाई प्रहरीले करीब तीन हप्ता अघि कास्कीको लुम्लेबाट निर्वाचनविरोधी पर्चासहित पक्राउ गरेको थियो ।

गिरपतारीमा परेका विद्यार्थी नेताहरुमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्यद्य मिलन राई र काजी गुरुङ तथा पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष शिव क्षेत्री, सचिव दिलबहादुर तामाङ र सदस्य प्रवल भण्डारी तथा सुनिल कुमाल रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले केही सार्वजनिक अपराध सम्बन्धि मुद्दा २०२८ वमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्दा दर्ता गरी हिरासतमा राखेको थियो ।

पक्राउ परेका विद्यार्थी नेताहरु विरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमार्फत् बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गरेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारीको इजलाशले उनीहरुलाई प्रति व्यक्ति दुई/दुई हजार रुपियाँ धरौटी लिई छाड्ने आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारीको आदेश वमोजिम धरौटी बुझाएर छुट्ने आशामा बसेका विद्यार्थी नेताहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीकै परिसरबाट उनीहरुको सामान बुझ्नका लागि भन्दै मानवअधिकारवादी र सञ्चारकर्मीहरुको अघि प्रहरी भ्यानमा राखेर लगेको थियो । उनीहरुसँगै प्रहरीले डाँडानाक प्रहरीचौकीको हिरासतमा रही सार्वजनिक मुद्दामा दुई हजार रुपियाँ धरौटी बुझाएका राजकुमार सुनारलाई पनि प्रहरीले भ्यानमा हालेर लगेको थियो ।

प्रहरी भ्यानमा हालेर लगिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुका बारेमा बुझ्न वडा प्रहरी कार्यालय राबजार पोखरा पुगेका मानवअधिकारवादी तथा सञ्चारकर्मीहरु त्यहाँ देखिएको वातावरणबाट तीन छक परेका थिए । विद्यार्थी नेताहरुलाई आफ्नो हिरासतबाट केही सार्वजनिक अपराध मुद्दामा थुनछेकका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा लगेका र धरौटीमा छुटेपश्चात् पनि ती विद्यार्थी नेताहरुलाई प्रहरी भ्यानमा हालेर आएका दुई तारे जुनियर अधिकृत टेलिफोनमा उनीहरुलाई लगाइने मुद्दाको विवरण बारे परामर्श लिईरहेका थिए । उनले आफूले तयार गरेको खेस्रा पढ्दै टेलिफोनमा भनिरहेका थिए, “सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन विथोल्ने बारेमा छलफल गरिरहेको अवस्थामा प्रहरीले छापा मारी पक्राउ गरिएको प्रतिवेदन बनाउँ हजूर ?” फेरि उनले सोधे,“पक्राउ गर्ने क्रममा सम्झाई बुझाई गर्दा उल्टै प्रहरीमाथि हातपात गरेको लखौं कि नलेखौं ?” उताको परामर्शपश्चात् उनले फोन राखे । उनले फोन राख्नासाथ मानवअधिकारवादी तथा पत्रकारले जिल्ला प्रशासन कार्यालय कास्कीमा धरौटी राखेर छुटेका तर रामबजार प्रहरीले ल्याएका बन्दीहरुका बारेमा जिज्ञासा राखेका थिए । त्यसपछि भने उनले रातोपिरो अनुहार बनाउँदै “माथिको आदेश वमोजिम पक्राउ गरिएको र केही सार्वजनिक अपराध मुद्दा चलाउने तयारी भईरहेको” जानकारी दिएका थिए । मुद्दा चलाउने तयारी गरिएका अभियुक्तहरुको नामावली माग गर्दा उनले “आज दिउँसोसम्म हाम्रै हिरासतमा रहेका ६ जना र डाँडानाक प्रहरीचौकीबाट ल्याइएका एक जना राजकुमार सुनार गरेर सात जना हुन्” भन्दै सातै जनाको नामावली टिपाएका थिए ।

प्रहरी हिरासतभित्र रहेका व्यक्तिहरु धरौटीमा छुटे लगत्तै पक्राउ गरेर फेरि त्यही मुद्दा चलाउन मिल्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा ती जुनियर अधिकृतले “माथिको आदेश” भनेर पन्छिएका थिए । माथिको आदेश आएमा प्रहरीले गलत प्रतिवेदन बनाउन पछि पर्दैन भन्ने भाव उनीमा देखिएको थियो । उनले दशकौंसम्म पत्रकारिता गरेका सञ्चारकर्मीहरुलाई समाचार लेख्ने तरीका बारेमा सुझाएका थिए । यसैबीच प्राप्त जानकारी अनुसार, केही सार्वजनिक अपराध सम्बन्धि मुद्दामा वडा प्रहरी कार्यालय बगरको हिरासतमा रहेका सबै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु एक-एक हजार रुपियाँ धरौटी राखी छुटेका छन् । धरौटीमा छुट्नेहरुमा पूर्णबहादुर रावत, टीकाराम घिमिरे, सविन क्षेत्री टासी लामा र प्रकाश बाँस्तोला लगायत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार