पञ्चायतको विरोध गर्दा मारिएका विसीको ३८ वर्षपछि काजकिरिया, पीडित परिवारले हालसम्म राहत पाउन सकेनन्

पञ्चायतको विरोध गर्दा मारिएका विसीको ३८ वर्षपछि काजकिरिया, पीडित परिवारले हालसम्म राहत पाउन सकेनन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ जेष्ठ २०७४
  • 14.2K
    Shares

पञ्चायतको विरोध गर्दा सुर्खेतमा हत्या गरिएका इन्द्र विसीको ३८ वर्षपछि काजकिरिया गरिएको छ । २०३६ साल जेठ १५ गते दशरथपुरमा हत्या गरिएका विसीका आफन्तले अहिले दाहसंस्कार तथा काजकिरिया गरेका हुन् । कुशको प्रतीमा बनाएर आफन्तले भेरीमा दाहसंस्कार गरेका छन् । प्रजातन्त्र स्थापनाका लागि २०३६ जेठ १५ गते किसानले निकालेको जुलुसमा सहभागी भएका बेला प्रहरीले विसीसहित सातजनाको हत्या गरेको थियो ।  दशरथपुर गोलीकाण्डमा विसीसहित लेखफर्सा, दशरथपुर र रामघाटका न्याउले कामी, लालवीर टमटा, हस्तबहादुर सार्की, कर्णबहादुर खत्री, ब्रहमदत्त तिवारी र बहादुरे कामीको मृत्यु भएको थियो ।
हत्यापछि आफन्तले शव पाउन सकेनन् । तत्कालीन अवस्थामा भएको धरपकडको त्रासका कारण मृतकका आफन्तले धार्मिक संस्कारअनुसार काजकिरिया गर्न पनि सकेका थिएनन् । तर हत्या भएको ३८ वर्षपछि मात्र आफन्तले मृतकको दाहसंस्कार तथा काजकिरिया गरेका हुन् ।
पञ्चायतद्वारा हत्या गरिएका इन्द्र विसीका भाइ सत्यन्द्र विसी भन्नुहुन्छ, ‘हामीले दाइको शव नै पाएनौं, त्यतिबेला किरिया गर्न खोजेका थियौं तर प्रहरीले घरमै पुगेर धरपकड गरे, हामीले संस्कारअनुसार काजकिरिया नै गर्न पाएनौं ।’ अहिले देशमा गणतन्त्र स्थापना भएको र मृतकको आत्मालाई पनि शान्ति मिलोस् भनेर लामो समयपछि दाहसंस्कार र काजकिरिया गरिएको उहाँले बताउनुभयो ।
आफन्तका अनुसार हत्या भएको स्थान र शव गाडिएको भनिएको स्थानबाट माटो ल्याएर कुशको प्रतीमा बनाएई अन्त्येष्टि गरिएको हो । धार्मिक संस्कारअनुसार भेरी नदीमा दाहसंस्कार गरेका आफन्तले काजकिरियासमेत गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर सोमबार मात्र आफन्तले संस्कार अनुसारका आवश्यक प्रक्रिया पूरा गरे ।
प्रजातन्त्रका लागि आफन्तले ज्यान दिएको भए पनि राज्यले उनीहरूको अपमान गरेको पीडित परिवारको गुनासो छ । हत्या भएको ३८ वर्षसम्म पनि मृतकलाई सहिद घोषणा नगरेर राज्यले रगतको अपमान गरेको आफन्तको दुखेसो छ । हत्या गरिएका सातजनालाई हालसम्म राज्यले सहिद घोषणा गरेको छैन । यद्यपि, घटनाको छानबिन गर्न बेलाबेलामा विभिन्न उच्चस्तरीय कार्यदल र समिति जिल्लामा नआएका भने होइनन् । तर हालसम्म पीडित परिवारले राहतसमेत पाउन सकेका छैनन् ।
स्थानीय प्रयासबाट हत्या भएको स्थानमा एउटा स्तम्भ निर्माण गरिएको छ । राज्यको तर्फबाट भने कुनै वास्ता नभएपछि पीडित परिवार निराश बनेका छन् । ‘गाडीले किचेर मर्दा सहिद घोषणा हुन्छ, पञ्चायतविरुद्ध लड्दा ज्यान गुमाउनेहरू बेखबर छन्’, सत्यन्द्रले भन्नुभयो, ‘हाम्रा आफन्तको रगतले प्रजातन्त्र आयो, त्यही जगमा गणतन्त्र हुर्किंदै छ तर राज्यले रगतको अपमान गरेको छ, हाम्रा आफन्त किन सहिद भएनन् ? ‘ देशमा सयौं सहिद घोषणा हुँदासमेत सुर्खेतमा प्रजातन्त्रका लागि ज्यान गुमाउनेलाई बेवास्ता गरिएको उहाँको गुनासो छ ।
आफूहरूले राहत रकम खोजेको नभई, रगतको सम्मान मात्र खाजेको उहाँले उल्लेख गर्नुभयो । पीडित परिवारले मृतक सबैलाई राज्यले सहिद घोषणा गर्नुपर्ने माग गरे । साथै उनीहरूले गोलीकाण्ड भएको स्थानमा मृतकको सालिक निर्माण, प्रतीक्षालय र स्मृति पार्क निर्माणका लागि राज्यले सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन्।
आफूहरूले हालसम्म राज्यबाट राहत तथा क्षतिपूर्ति नपाएको पीडित परिवारले बताएका छन् । साथै उनीहरूले अब राज्यले मृतकलाई उच्च सम्मान दिनुपर्ने, आफन्तलाई रोजगारी दिनुपर्ने र राज्यका निकायमा प्रतिनिधित्वको अवसर दिन आग्रह गरेका छन् । हत्या भएकाहरूका आफन्तले पटकपटक राज्यसँग रगतको सम्मान गर्न माग गर्दै आएका छन् । तर राज्यले नै बेवास्ता गरिरहेको उनीहरूको दुखेसो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार