पोखरा, ९ असार २०८३।
सुनसरीको बर्जु गाउँपालिका-६ स्थित हुलाकी सडक खण्डमा इभी कारले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका एक वरिष्ठ सई (वरिष्ठ प्रहरी नायब निरीक्षक) को मृत्यु भएको छ भने दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा ध्वस्त भएको छ ।
प्रहरीका अनुसार , प्र १-०२-००२-च ६३५२ नम्बरको इभी कारले बर्जु गाउँपालिका-६ स्थित हुलाकी सडक खण्डमा प्र १-०१-००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक नेपाल प्रहरीका बहालवाला वरिष्ठ सई सप्तरीको विष्णुपुरा निवासी ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको हो। सोही दुर्घटनामा परेर उनको श्रीमती रामपरी यादव घाइते भएकी छिन।
मृतक यादव गएको ६ गते जिल्ला प्रहरी कार्यालय बाराबाट जिल्ला प्रहरी कार्यालय सिराहा दरबन्दीका लागि रवाना बुझेर निस्किएको खुलेको छ।
कार चालक मोरङको कटहरी घर भएका डाक्टर राजेन्द्र चौधरी हुन्। उनलाई चिमडी प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको सुनसरी प्रहरीले जनाएको छ।