रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, तयारी पूरा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। भरतपुरस्थित गेष्टहाउस चौरमा आजदेखि सुरु हुने महाधिवेशनका लागि आवश्यक व्यवस्थापन, प्रतिनिधि छनोट तथा नीतिगत दस्तावेज तयारीको काम सम्पन्न भएको पार्टीले जानकारी दिएको छ।
शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा भइसकेको बताए। उनका अनुसार महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा र स्वयंसेवक परिचालनलगायतका तयारीसमेत सम्पन्न भइसकेका छन्।
महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम तय गरिएको छ।
रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको थियो। प्रवक्ता झाले राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन तयार भइसकेको जानकारी दिँदै केन्द्रीय समितिले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनसमेत अनुमोदन गरिसकेको बताए।
भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संगठनात्मक संरचनामा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव पारित गरिएको छ। प्रदेश सभापतिहरूलाई पदेन सदस्य बनाउने व्यवस्था पनि संशोधित विधानमा समेटिएको छ।
विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार संशोधित संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष रहनेछन्। यीमध्ये उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।
यसअघि पदाधिकारीमा महिला सहभागितासम्बन्धी स्पष्ट व्यवस्था नभए पनि संशोधित विधानले नेतृत्व तहमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
संशोधन प्रस्तावअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ५१ जना सदस्य पार्टी सभापतिले मनोनयन गर्न सक्नेछन्। समावेशितालाई आधार बनाएर गरिने मनोनयनमा प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ। बाँकी ९९ सदस्य भने खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्।
रास्वपा नेतृत्वले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति निर्धारण तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राखेको जनाएको छ। महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव र समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
पार्टीका अनुसार महाधिवेशनमा कुल तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। तीमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। रास्वपाले हाल पार्टी सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ।
सचिवालय सदस्य हरि ढकालका अनुसार हालसम्म ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न गरिएको छ। त्यसैगरी छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको छ। मधेस प्रदेश तथा निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाका तदर्थ समितिबाट पनि महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए।