रास्वपाको संशोधित विधान सर्वसम्मत रूपमा अनुमोदन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपाको संशोधित विधान सर्वसम्मत रूपमा अनुमोदन : निर्वाचन कार्यतालिका सार्वजनिक


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ६ असार २०८३
  • 1.4K
    Shares

पोखरा , ६ असार २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीको संशोधित विधानलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। भरतपुरस्थित दियालो फुडल्यान्डमा शनिबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकले सचिवालय हुँदै आएको उक्त संशोधन प्रस्तावलाई पारित गरेको हो।

संशोधित विधानका मुख्य बुँदाहरू यस प्रकार छन्:

  • केन्द्रीय समिति: कुल सदस्य संख्या बढाएर एकसय ५८ सदस्यीय बनाइएको छ।
  • सभापति: एक जना रहने साविककै व्यवस्था यथावत छ।
  • उपसभापति: कुल टीन जना रहने, जसमा एक जना महिला अनिवार्य र एक जना सभापतिद्वारा मनोनीत हुनेछन्।
  • महामन्त्री: कुल दुई जना रहने, जसमा एक जना निर्वाचित र एक जना सभापतिद्वारा मनोनीत हुनेछन्।
  • सहमहामन्त्री: कुल पांच जना रहने, जसमा दुई जनालाई सभापतिले मनोनीत गर्नेछन्।

केन्द्रीय समितिबाट अनुमोदित यो विधानलाई महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ। बन्दसत्रले पारित गरेपछि सोही विधान बमोजिम नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन हुँदैछ भने बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। केन्द्रीय निर्वाचन आयोगका अनुसार असार ८ गते उम्मेदवारी दर्ता र असार ९ गते नयाँ नेतृत्वका लागि मतदान हुने कार्यतालिका तय भइसकेको छ।

आयोगका प्रमुख भुवन केसीले जारी गरेको कार्यतालिकामा आजै राति महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशित गरिने भएको छ। 

त्यस्तै, असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारका लागि फारम वितरण गरिने भएको छ। त्यही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। 

रास्वपा केन्द्रीय समितिका लागि असार ९ गते बिहान साढे ८ देखि दिउँसो ३ बजेसम्म मतदाता तय गरिएको छ। केन्द्रीय सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा मतदान हुनेछ। 

पदाधिकारीका लागि दोस्रो चरणमा मतदान हुनेछ। त्यसको कार्यतालिकामा भने पछि सार्वजनिक गरिने आयोगका प्रमुख केसीले बताए। 

प्रतिक्रिया