सवारी दुर्घटनामा परेर क्यानडामा कास्कीका श्रेष्ठसहित दुई नेपाली विद्यार्थीको निधन

सवारी दुर्घटनामा परेर क्यानडामा कास्कीका श्रेष्ठसहित दुई नेपाली विद्यार्थीको निधन


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २ असार २०८३
  • 1.4K
    Shares

पोखरा, २ असार २०८३।

सवारी दुर्घटनामा परेर क्यानडामा दुई नेपाली विद्यार्थीको निधन भएको छ।

उच्च शिक्षामार्फत सुनौलो भविष्य निर्माण गर्ने सपना बोकेर क्यानडा पुगेका कास्कीका राजीव श्रेष्ठ र भोजपुरकी लाक्पा याञ्जी शेर्पाको सवारी दुर्घटनामा निधन भएको हो ।

सन् २०२६ जुन ११ मा क्यानडाको ओन्टारियो प्रदेशमा भएको दुर्घटनामा उनीहरुको निधन भएको प्राप्त समाचारमा जनाइएको छ ,

२२ वर्षीया लाक्पा याञ्जी शेर्पा टोरन्टोस्थित फ्लेमिङ कलेजमा नर्सिङ अध्ययनरत थिइन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अनुसार उनले हालै नर्सिङ अध्ययन पूरा गरेकी थिइन्। त्यस्तै, राजीव श्रेष्ठले टोरन्टोको महक कलेजमा सूचना प्रविधि (आईटी) विषय अध्ययन गरिरहेका थिए।

जुन ९ र १० मा फ्लेमिङ कलेजमा आयोजित दीक्षान्त समारोहमा सहभागी भएका उनीहरू घर फर्किने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनीहरू सवार एसयूभी गाडीमा आगो लागेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै सार्वजनिक गरिएको जानकारीअनुसार दुर्घटनापछि गाडीमा आगलागी भएको थियो र दुवै नेपाली विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो।

एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाका अनुसार दुवै जनाको शव हाल टोरन्टोस्थित अस्पतालमा राखिएको छ। परिवारको अनुरोधअनुसार लाक्पा याञ्जी शेर्पाको शव नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ। राजीव श्रेष्ठको अन्त्येष्टि कहाँ गर्ने भन्ने विषयमा भने हालसम्म निर्णय भइनसकेको जनाइएको छ।

उच्च शिक्षाको लक्ष्य लिएर विदेश पुगेका दुई नेपाली युवाको असामयिक निधनले परिवार, आफन्त तथा नेपाली समुदायलाई शोकमा डुबाएको छ।

प्रतिक्रिया