भारतीय चर्चित शिक्षक खान सरको कोचिङ् सेन्टरमा तोडफोड गरेको आरोप लागेका युवा बिराटनगरको होटलमा मृत भेटिए, चार जना पक्राउ

भारतीय चर्चित शिक्षक खान सरको कोचिङ् सेन्टरमा तोडफोड गरेको आरोप लागेका युवा बिराटनगरको होटलमा मृत भेटिए, चार जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 1.2K
    Shares

पोखरा, ३१ जेठ २०८३।

भारतमा खान सरले परिचित फैसल खानले भारतको पटनामा सञ्चालन गर्दै आएको खान ग्लोबल स्टडिजमा तोडफोड, झडप र गोली चलाएको घटनामा संलग्न रहेको आरोप लागेका एक युवा मोरङको विराटनगरस्थित एक होटलमा मृत अवस्थामा भेटिएका छन्।

भारतीय प्रहरीको खोजि सूचीमा रहेका २४ वर्षीय भारतीय नागरिक प्रिन्स यादव शनिबार राति मोरङको विराटनगरस्थित शुभ होटलमा मृत भेटिएका हुन्।

यादव शनिबार राति बास बसेको उक्त होटलमा बिरामी अवस्थामा भेटिए पछि उनलाई तत्काल उपचारका लागि न्यूरो अस्पताल लगिँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कविता कटवालले जानकारी दिइन् ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कविता कटवालले यादवको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिइन्। प्रारम्भिक अनुसन्धानबाट मृतक यादव बिहारका शैक्षिक व्यवसायी रोशन आनन्दका भाइ रहेको खुलेको उनले बताइन्।

प्रहरीका अनुसार केही समयअघि बिहारको पटनामा रहेको ज्ञानबिन्दु जीएस एकेडेमी र खान ग्लोबल स्टडिजबीच उत्पन्न विवादका क्रममा भएको तोडफोड, झडप तथा हवाइ फायरिङ घटनामा यादव संलग्न थिए। उक्त घटनापछि उनीविरुद्ध भारतमा एफआइआर दर्ता भएको र नेपाल आएर लुकेर बसेको आशंका गरिएको छ।

गत जेठ १९ गते पटनामा ‘खान सर’का नामले परिचित फैसल खानले सञ्चालन गर्दै आएको खान ग्लोबल स्टडिजमा तोडफोड, झडप र गोली चलेको घटना भएको थियो। त्यस घटनामा संलग्न रहेको आरोपमा प्रिन्स यादवविरुद्ध उजुरी दर्ता गरिएको थियो।

प्रहरी अनुसन्धानअनुसार यादव जेठ २० गते विराटनगर बसपार्कस्थित मेट्रोसिटी होटलमा बसेका थिए। त्यसपछि उनी जेठ २२ गते शुभ होटलमा सरेका थिए। सोही होटलमा उनको मृत्यु भएको हो।

अनुसन्धानका क्रममा मृतक यादवको टाउकोमा चोट लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ। यद्यपि, मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताइएको छ।

प्रहरीले यादवसँगै होटलमा बसिरहेका चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। नियन्त्रणमा लिइएकामध्ये बिहारको सुपौल जिल्लाका जयराम यादव, लल्टु यादव, रोशन यादव तथा सहरसा जिल्लाका अंकित यादव रहेका छन्।

प्रहरीका अनुसार होटलमा अचेत अवस्थामा रहेका यादवलाई नातामा भाइ पर्ने सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१४ निवासी तीर्थकुमार यादवसहित चार जनाले अस्पताल पुर्‍याएका थिए।

मोरङ प्रहरीले घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकेको जनाएको छ। पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि शव परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया