काठमाडौं, ३१ जेठ २०८३।
परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुने भ्रमण जुन १४ देखि १७ तारिखसम्म सञ्चालन हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि मन्त्री खनालको यो पहिलो चीन भ्रमण हो। गत सातामात्रै भारत भ्रमण सम्पन्न गरेका खनालको चीन भ्रमणलाई नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।
भ्रमणका क्रममा बेइजिङमा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने, आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने र पारस्परिक हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालले चीनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरू तथा चीन सरकारका उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन्।
भारत भ्रमणअघि नै चीन भ्रमणको तयारी र तालिका तय भइसकेको चर्चा कूटनीतिक वृत्तमा चलेको थियो। भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसहित विभिन्न उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
बेइजिङ बसाइका क्रममा मन्त्री खनाल नेपाली दूतावासले आयोजना गर्ने वैदेशिक लगानी प्रवर्द्धनसम्बन्धी सम्मेलनमा सहभागी हुनेछन्। साथै, चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने र नेपालमा लगानीका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम पनि तय गरिएको छ।
भ्रमणका क्रममा नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्नेछ। उनी जुन १७ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ।