पोखरा, ३० जेठ २०८३।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार राति अबेर सम्पन्न मतदानमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै प्रदेश अध्यक्ष पदमा बिजयी भएका हुन्।
अध्यक्ष पदमा बिजयी बनेका त्रिपाठी निवर्तमान महासचिव हुन् र उनले दुईसय ३४ मत पाएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी रहेका निवर्तमान कार्यबाहक अध्यक्ष राजन गौतमले एकसय मत पाएका छन्। अध्यक्ष पदका अर्का उम्मेदवार माधब कंडेलले ११ मत पाउँदा हरि कार्कीले भने जम्मा दुई मत पाएका छन्। चुनाब हुनुपूर्व सर्वसम्मतिको प्रयास गरिएको भए पनि सहमति हुन नसके पछि राति ११ बजेपछि मात्र मतदान शुरु भएको थियो।
पार्टीको विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी (५१ प्रतिशत) मत ल्याउनुपर्ने प्रावधान रहेकोमा त्रिपाठीले पहिलो चरणमै आवश्यक मत सीमा कटाएर स्पष्ट जित हासिल गरेका छन् ।
कुल सातसय ७८० जना प्रतिनिधि (मतदाता) रहेकामा ४३७ जनाले मात्र मतदान गरेका थिए। यस्तै, प्रदेश कार्यसमितिका कुल सदस्य पदका लागि ५१ जनाको उम्मेदवारी परेकोमा १२ जना सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी सदस्य पदका लागि प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित सभापति त्रिपाठीले गण्डकी प्रदेशमा रास्वपाको सांगठनिक संरचनालाई थप सुदृढ र गतिशील बनाउँदै आगामी राजनीतिक यात्रालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अधिवेशन उद्घाटन गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी ले राजनीतिलाई सेवाका रूपमा स्थापित गर्न पार्टीको सांगठनिक संरचना र उम्मेदवार छनोट प्रक्रियामा सुधार गरिने बताए। संसदीय दलका उपनेता गणेश पराजुली ले पार्टी अब ‘मास बेस्ड’ र ‘क्याडर बेस्ड’ मोडलको मिश्रणबाट अघि बढ्ने बताएका छन्।