पोखरा, २९ जेठ २०८३।
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बुच्चाकोट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
बनेपाबाट सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बुच्चाकोट क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको हो भने अन्य १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बिष्टका अनुसार हालसम्म फेला परेका मृतकमध्ये ४ पुरुष र ४ महिला रहेका छन्। उनीहरूको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी १७ जना घाइते भएका छन्। घाइतेहरूलाई सुरक्षाकर्मी, स्थानीयवासी तथा उद्धार टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो। उद्धार कार्यका क्रममा बसभित्र र बसमुनि च्यापिएका यात्रुको खोजी तथा उद्धार गरिएको थियो।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिए पनि प्राविधिक परीक्षण तथा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो। पछिल्लो समय सडकको केही खण्डमा मर्मत तथा पुनर्निर्माणको काम भइरहेका बेला यस क्षेत्रमा सवारी दुर्घटनाका घटनासमेत दोहोरिँदै आएका छन्।