पोखरा, २६ जेठ २०८३।
फ्लाई दुबईले आगामी असोज सात गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने घोषणा गरेरको छ। यस बारेमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राखेर सार्वजनिक जानकारी दिएका छन्।
मेयर आचार्यका अनुसार , उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले सन् २०२६ सेप्टेम्बर २३ अर्थात आगामी असोज ७ गतेदेखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको छ।
यो उपलब्धि केवल हवाई सेवा विस्तार मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक अवसर भएको जिकिर गर्दै मेयर आचार्यले यसले पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
फ्लाईदुबईको प्रत्यक्ष उडान शुरु भएपछि पोखरा–दुबई हवाई मार्गमार्फत मध्यपूर्व, युरोप, अफ्रिका लगायत तीनसय भन्दा बढी शहरहरूसँग अप्रत्यक्ष रूपमा सञ्जाल विस्तार हुने अपेक्षा गरिएको छ।
यस उपलब्धिमा नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय, युनिभर्सल ट्राभल्स तथा सम्बन्धित सरोकारवाला निकायहरूको भूमिका महत्वपूर्ण रहेको जनाइएको छ।