पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने भारतीय महिलाको गिरोहमा संलग्न पांच जना भारतीय महिला पक्राउ

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने भारतीय महिलाको गिरोहमा संलग्न पांच जना भारतीय महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 3.1K
    Shares

पशुपति नाथ मन्दिर क्षेत्रमा लुटपाटमा संलग्न भारतीय महिलाहरु

पोखरा, २६ जेठ २०८३।

काठमाडौं — पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई लक्षित गरी सुनको सिक्री लुटपाट गर्ने आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरू सबै महिला रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा भारतको गोरखपुर नौसर घर भएकी ३५ वर्षीया अन्जु चमार, २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरती चमार, ३५ वर्षीया रिंकु चमार तथा १८ वर्षीया नन्दनी चमार रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका श्रद्धालुहरूको भीडको फाइदा उठाउँदै उनीहरूले घाँटीमा लगाएका सुनका सिक्री लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले विशेष निगरानी र खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरी गरिएका सुनका दुई थान सिक्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनामाथि चोरी तथा लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। यसका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ।

धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त संवेदनशील मानिने पशुपतिनाथ क्षेत्रमा पछिल्लो समय दर्शनार्थी र पर्यटकलाई लक्षित गरी चोरी तथा पाकेटमारीका घटना हुने गरेको भन्दै प्रहरीले सतर्कता बढाएको जनाएको छ। भीडभाड हुने स्थानमा बहुमूल्य गरगहना तथा नगद सुरक्षित राख्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया